सन्तोष दहित
दाङ, १९ भदौ । थारू समुदायको परम्परागत ठाँटी घर र बहुउद्देश्यीय मटावाँ सभाहलको निर्माण काम अन्तिम चरणमा पुगेको छ ।
थारू समुदायको परम्परागत पहिचान झल्काउने उद्देश्यले घोराही उपमहानगरपालिका–८ सौंरी गाउँमा ठाँटी घर र सभा हल निर्माण गरिएको हो । थारू कल्याणकारिणीसभा दाङको पहल तथा लुम्बिनी प्रदेश सरकारको सहयोगमा झण्डै डेढ करोड रुपैयाँमा निर्माण हुन लागेको ठाँटी घर र सभा हलको निर्माण अन्तिम चरणमा पुगेको थारू कल्याणकारिणीसभा दाङका अध्यक्ष अशोककुमार चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार सभाहल निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ । ठाँटी घर र सभाहल निर्माणको काम दशैंतिहार अगाडि सम्पन्न हुने थारु कल्याणकारिणीसभा दाङले जनाएको छ ।
सभाहल निर्माण भएपछि मटावाँहरूको भेला, कचेहरी गर्नमा सहज हुने उहाँले बताउनुभयो । ‘यसअघि मटावाँहरूको साझा घर थिएन’– उहाँले भन्नुभयो– ‘अब मटावाँहरूको आफ्नै सभाहल र ठाँटी घर बन्दैछ, त्यो पनि व्यवस्थित । सदियौंदेखि मटावाँहरूले गाउँको सामाजिक, न्यायिक तथा विकासको काम गर्दै आए पनि साझा घर नहुँदा बैठक, भेला गर्न समस्या थियो अब यी संचरना निर्माणले सहज हुनेछ ।’ १३ मिटर चौडाइ र ४० मिटर लम्बाइ क्षेत्रफलमा सभाहल निर्माण भइरहेको छ ।
थारूहरूको बस्ती भएकोले यस गाउँलाई नमूनाको रूपमा विकास गर्दै थारू होमस्टे सञ्चालनमा ल्याउने, विस्तारै यस ठाउँलाई पर्यटकीय गाउँको रूपमा विकास गर्ने आफूहरूको योजना रहेको अध्यक्ष चौधरीले बताउनुभयो । घरकै आँगनमा सुविधा सम्पन्न आधुनिक मटावाँ सभाहल र ठाँटी घर निर्माण थालिएपछि स्थानीय थारू समुदामा उत्साह छाएको छ । गाउँमा भइरहेको यस नयाँ विकासले थप अवसर र परिवर्तन ल्याउने विश्वास स्थानीय एवं थारू कल्याणकारिणीसभाका जिल्ला सदस्य शोभाराम चौधरीले बताउनुभयो ।