दाङ, ५ मंसिर । दाङको घोराहीमा प्रथम नेविसंघ कप अन्तर कलेज क्रिकेट प्रतियोगिता शुरु भएको छ । नेपाल विद्यार्थी संघ राप्ती इन्जिनियरिङ कलेज एकाई समितिको आयोजनामा मंगलवारदेखि घोराही उपमहानगरपालिका–१७ गुलरिया क्रिकेट मैदानमा प्रथम नेविसंघ कप अन्तर कलेज क्रिकेट प्रतियोगिता शुरु भएको हो ।
नेपाल विद्यार्थी संघ राप्ती इन्जिनियरिङ कलेज एकाई समितिका सभापति विजय विष्टको अध्यक्षता तथा नेपाली कांग्रेस दाङ जिल्ला सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यता एंव नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य निरज गिरीको विशिष्ट आतिथ्यमा प्रतियोगिताको उद्घाट गरिएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै नेपाली कांग्रेसका जिल्ला सभापति डाँगीले नेविसंघले विद्यार्थीहरुको हकहितसँगै विद्यार्थीहरुलाई आकर्षण गर्नका लागि सिर्जनात्मक क्रियाकलाप गर्नुपर्ने बताए ।
जिल्लामा क्रिकेट प्रतियोगिताको आयोजना गरेर नेविसंघ राप्ती इन्जिनियरिङ कलेज इकाइले राम्रो कामको सुरुवात गरेको भन्दै जिल्ला सभापति डाँगीले यसलाई जिल्लाका अन्य ठाउँहरुमा लैजानुपर्ने बताए ।
कार्यक्रममा नेविसंघका केन्द्रीय सदस्य निरज गिरीले विद्यार्थीको अधिकारसँगै नेविसंघले रचनात्मक कार्यक्रम गरेर अन्य विद्यार्थी संगठनभन्दा अव्वल हुनुपर्ने बताए । प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजारसहित मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन भने दोश्रो हुने टिमले नगद १५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसैगरी विद्यागततर्फ उत्कृष्ठ खेल प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कृत गरिनेछ ।
राप्ती इन्जिनियरिङ कलेज इकाइ उपसभापति अमृत रावतको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा नेविसंघका जिल्ला सदस्य अर्जुन भट्राई, नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस इकाइ सभापति समिर केसीलगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण नेविसंघ इकाइ सचिव गौरी चौरीले गरेकी थिइन । प्रतियोगितामा जिल्लाका २० टिमको सहभागीता रहेको छ । प्रतियोगिता मंसिरको ९ गतेसम्म सञ्चालन हुने छ ।