गुरुकुल तुलसीपुरका विद्यार्थीलाई समाचार लेखनको शिक्षा

दाङ, ५ मंसिर । गुरुकुल एकेडेमी तुलसीपुरले विद्याथीलाई समाचार लेखन र समाचारको महत्वबारे सिकाएको छ । विद्यालयले कक्षा ६ देखि ९ सम्मका विद्यार्थीलाई समाचारको महत्व र समाचार लेखनबारे सिकाएको हो ।

विद्यार्थीको सर्वाङ्गीन विकासका लागि विभिन्न क्षेत्रसंग सम्बन्धित अतिरिक्त कक्षा संचालन गर्ने गरेको विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले बताउनुभयो । सोहि अभियान अन्तर्गत आज विद्यार्थीलाई समाचार लेखनका आधारभूत कुराहरु सिकाएको बताउनुभयो ।

विद्यार्थीलाई किताबी शिक्षासंगै बाहिरी ज्ञान दिन अतिरिक्त कक्षाहरु संचालन गर्ने गरिएको प्रधानाध्यापक गिरीले बताउनुभयो । विद्यार्थीको सिकाईलाई प्रभावकारी बनाउन अतिरिक्त कक्षाले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।

रेडियो हाम्रो पहुँचका समाचार सम्पादक जीतसागर जी.एमले विद्यार्थीलाई समाचार लेखन र समाचारको महत्वबारे विद्यार्थीलाई सिकाउनुभएको हो । उहाँले जुनसुकै पेशा व्यवसायमा जाँदा पनि समाचारको आधारभूत ज्ञान आवश्यक पर्ने बताउनुभयो ।