दाङ, ५ मंसिर । दाङको घोराही ट्राफिक चोकको बीचमा रहेको ऐतिहासिक घोडाको शालिक धुलोले ढाकिएपछि सफा गरिएको छ । तुलसीपुर–७ जितपुर निवासी उपेन्द्र पौडेल र उहाँकी श्रीमती सरीता पौडेलले यसको संरक्षणप्रति चासो दिँदै सफा गर्नुभएको हो ।
धुलो र फोहोरले ढाकिएको शालिक सफा गर्दै पौडेल दम्पतिले मुख्य चोकमा रहेको शालिकप्रति स्थानीय तह र सम्बन्धित निकायले पर्याप्त ध्यान नदिएको गुनासो गर्नुभयो । ‘यस्तो ऐतिहासिक शालिकको संरक्षण गर्नु सबैको दायित्व हो ।’ उपेन्द्र पौडेलले भन्नुभयो–‘तर यसको संरक्षणमा कुनै चासो देखिएको छैन, हामीले सफाई गरेर खबरदारी गरेका छौँ ।’
पौडेल दम्पतिले आफ्नो व्यक्तिगत पहलमा शालिकलाई सफा गरेर स्थानीय प्रशासन र नागरिकहरूलाई यस्ता सम्पदाको संरक्षणप्रति जागरूक बन्न अपिल गर्नुभएको हो ।
ट्राफिक चोकको यो शालिक घोराहीको पहिचानको रूपमा चिनिन्छ । यस्ता सम्पदाको सरसफाइ र संरक्षण स्थानीय सरकार तथा समुदायको जिम्मेवारी भएकोमा सरोकारवालाहरूले अब ध्यान दिनुपर्ने पौडेलले बताउनुभयो ।