प्यूठानको पर्यटकीय स्थल मल्लरानीको जिपलाइन अलपत्र

प्यूठान, ४ मंसिर । प्यूठानको पर्यटकीय स्थल मल्लरानी डाँडामा सञ्चालन गरिएको जिपलाइन अलपत्र परेको छ । बर्खा लागेको कारण देखाउँदै साउनमा बन्द भएको जीपलाइन सञ्चालनमा कुनै सुरसार छैन् ।

मल्लरानीमा व्यापक प्रचार गरी सञ्चालनमा ल्याइएको थियो । वर्खामा २ महिना जिपलाइन बन्द गर्ने समितिको आन्तरिक छलफल भए पनि सञ्चालन गर्न नसकिएको मल्लरानी टुरिजम इन्भेस्टमेन्ट कम्पनी प्रा.लि.का अध्यक्ष इमानसिंह भारतीले बताए ।

कम्पनिले नाफा कमाउने देखाउँदै शेयर उठाएका अगुवाहरू नै गैर जिम्मेवार देखिएका छन् । सोही कारण शेयर सदस्यहरूको लगानी जोखिममा परेको छ । १ करोड बढी लगानीमा तयार गरिएको प्रोजेक्ट साउन यता बन्द रहनु दुःखद रहेको कम्पनीका शेयर सदस्य बासु प्रसाद श्रेष्ठले बताए । ‘जिपलाइन सञ्चालन गर्न जिम्मेवारी लिएको टिमले जिम्मेवारी पूरा गरेन’ शेयर सदस्य श्रेष्ठले भने,‘ कानुनी प्रक्रिया पूरा नगरी शुरु गर्दा समेत रोकियो ।’

पूर्व सूचनाविना सञ्चालकले जिपलाईन बन्द गर्दा जिपलाईन चढ्ने भनेर मल्लरानी पुगेका धेरै पर्यटकहरू निराश भएर फर्कने गरेका छन् । तिहार बिदामा गाउँ आएको बेला जिपलाईन चढ्न मल्लरानी पुगेर फर्किएको मल्लरानी गाउँपालिका ३ का रेशम के.सी. ले बताए । ‘श्रीमतीलाई लिएर जिपलाईन चढ्न मल्लरानी पुगेको थिएँ । यत्तिकै फर्कनु प¥यो ।’ के.सी. ले भने– ‘जिपलाईन चढ्न पुगेको त लठ्ठा मात्र रैछ ।’

स्थानीय तह कार्यान्वयन पछि सुनसान बनेको जिल्ला सदरमुकाम खलंगा मल्लरानीमा जिपलाइन सञ्चालनपछि लयमा फर्कने आशा स्थानीयले गरेका थिए । हिजोआज जिपलाइन बन्द भएपछि स्थानीय निराश छन् ।