दाङ उवासंघमा कोरोनाविरुद्धको खोप केन्द्र

दाङ, ४ मंसिर । दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्यालय घोराहीमा कोरोना विरुद्धको खोप अभियान शुरु भएको छ । संघको समन्वय र स्वास्थ्य कार्यालय दाङको आयोजनामा सोमवार शुरु भएको हो ।

बुधबारसम्म खोप अभियान चल्ने स्वास्थ्य कार्यालय दाङका खोप शाखा प्रमुख भानुज्योति वलीले बताउनुभयो । ‘कार्तिक ६, ७ र ८ गते जिल्लाका सबै स्वास्थ्य संस्थामा कोरोना विरुद्धको खोप अभियान चलाएका थियौं’– वलीले भन्नुभयो– ‘त्यहीअन्तर्गत अहिले संघको पहलमा यो अभियान सञ्चालन गरिएको छ ।’ उहाँका अनुसार त्यसबेला अभियानमा २५ हजार ८६ डोज खोप लगाइएको थियो । अझै तीन हजार डोज खोप लगाउन सकिने छ । त्यही बाँकी रहेको खोपका लागि संघको कार्यालय घोराहीमा अभियान थालिएको छ ।

यसअघि दुईवटा कोरोना विरुद्धको खोप लगाएकोले वुष्टरको रुपमा लगाउन सक्ने शाखा प्रमुख वलीले बताउनुभयो । उहाँका अनुसार एउटा पनि खोप नलगाएकोले शुरु खोप लगाउन पाउनेछन् । एक वर्ष अघि लगाएकोले पनि अर्को डोज खोप लगाउन सक्ने छन् । यसअघि एउटा मात्रै खोप लगाएको व्यक्तिले पनि यो खोप लगाउनैपर्ने छ । एउटा मात्राले हुनेछैन । उमेर १२ वर्ष नाघेका व्यक्तिले लगाउने छन् । रगत पातलो बनाउने औषधि खाइरहेका, हस्पिटलमा बेडमा उपचार गराइरहेका र कुनै नयाँ रोगले संक्रमित बाहेक सबैले लगाउनेछन् ।

खोप लगाउन जताबाट जो आए पनि हुने शाखा प्रमुख वलीले जानकारी दिनुभयो । उहाँका अनुसार पसल व्यवसाय गरेकाले मात्रै खोप लगाउन पाउने भन्ने होइन । केही पेशा नभएका व्यक्तिले पनि सेवा लिन पाउँछन् । जुन ठाउँबाट आएर पनि खोप लगाउन पाइनेछ । आम सर्वसाधारण नागरिकका लागि खोप अभियान हो । उहाँले खोप नलगाएका र छुटेकालाई लगाउन आग्रह गर्नुभयो ।