दाङ, २ मंसिर । राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरले मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि योग ध्यान कार्यक्रम गरेको छ । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको सहकार्य एवम जिल्ला प्रहरी कार्यालय दाङको समन्वयमा कार्यक्रम भएको हो ।
मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि योग ध्यान कार्यक्रमका अध्यक्ष डा. मदन कुमार बिसीको अध्यक्षता तथा नेपाल प्रहरी महिला संघका केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवरको प्रमुख आतिथ्यता एवं दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल र लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी कुबेर कडायतको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस अवसरमा प्रमुख अतिथि कुँवरले सहभागिहरुलाई मानसिक स्वास्थ्यको महत्व र तनावमुक्त जीवनका लागि योग र ध्यानको अभ्यास गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी लम्सालले योग र ध्यानले मानसिक शान्ति र शारीरिक स्वास्थ्यको समायोजनमा ठूलो भूमिका खेल्ने बताउनुभयो ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख कडायतले योग र ध्यान कार्यक्रमले प्रहरी सेवामा कार्यरत कर्मचारीहरुको मानसिक स्वास्थ्यलाई सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी श्रीमती संघका अध्यक्ष निलम कडायत, प्रहरी वरिष्ठ उपरीक्षक माधव श्रेष्ठ, सुमन श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख रमेश कुमार डाँगी, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक डिएसपी इश्वर थापा लगाएतकाले अहिलेको तनावयुक्त जीवन शैलीमा नियमित रुपमा योग र ध्यान गर्ने बानीले शारीरिक र मानसिक रुपमा स्वस्थ हुन सकिने बताउनुभयो ।
राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरका सूचना अधिकारी कैलाश न्यौपानेले मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि योग ध्यान कार्यक्रम सोमबारसम्म संचालन हुने बताउनुभयो ।