दाङ, २ मंसिर । दाङको तुलसीपुरमा आजदेखि चौथो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता शुरु हुने भएको छ । प्रतियोगिताको अरनिको खेलमैदान तुलसीपुरमा दिउँसो साढे १ बजे उद्घाटन हुने भएको हो ।
प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश सभा प्रमुख कृष्ण घर्ती मगरले गर्नुहुने भएको छ । आज उद्घाटन खेलमा स्काई फुटबल क्लब सुर्खेत र साबिक बिजेता राईजिङ स्टार फुटबल क्लब घोराही भिड्नेछन् ।
फाउण्डेसनका अध्यक्ष पोखर सिह डाँगीले ८ टिमको सहभागीता रहेको बताउनुभयो । मंसिर ८ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद २ लाख २ हजार २ सय नगद पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद १ लाख १ हजार १ सय कप,मेडल, प्रमाणपत्र हात पार्ने अध्यक्ष डाँगीले बताउनुभयो ।
त्यसैगरी प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत बिधातर्फका खेलाडीलाई जनही ५ हजारका दरले नगद पुरस्कार तथा ट्रफी प्रदान गरिनेछ भने प्रत्येक म्याचको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद १५ सय तथा ट्रफी प्रदान गरिने संयोजक प्रिति बहादुर गिरीले जानकारी दिनुभयो ।
प्रतियोगितामा राईजिङ स्टार घोराही,युएनबिसी घोराही, ईनोभेटिभ ज्ञानज्योति, टरिगाउ युवा क्लब तुलसीपुर, छिमेकी राष्ट्र लखनउ भारतको साहारा फुटबल क्लब, स्काई फुटबल क्लब सुर्खेत, ब्रिगेड ब्वाईज ललितपुर र कपिलवस्तु-११ गरि ८ टिमको सहभागिता रहेको छ ।