नेपालगन्जबाट यातायात कार्यालय सर्ने हल्ला मात्र होः मन्त्री न्यौपाने

दाङ, १ मंसिर । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले नेपालगन्जबाट यातायात कार्यालय सर्न लागेको हल्ला मात्र भएको बताउनु भएको छ ।

शुक्रबार नेपालगन्ज उप–महानगरपालिकामा भएको छलफलका क्रममा मन्त्री न्यौपानेले नेपालगन्जमा यातायात कार्यालय सर्ने नभएर कोहलपुरमा सेवा कार्यालय विस्तार गर्न लागिएको बताउनु भयो ।

उहाँले भन्नु भयो,‘यो हल्ला कसरी आयो मलाई थाहा छैन । मलाई धेरैले फोन गर्नु भएको छ । सरकारी स्तरबाट कही कत्तै नेपालगन्जबाट कार्यालय सार्ने बारेमा निर्णय भएको छैन । बरु नेपालगन्जको कार्यालयलाई बरु अहिल सहज हुने ठाउँमा हुनु पर्छ भन्ने हो ।’

कोहलपुरमा सेवा कार्यालय विस्तार गरेर राजमार्ग क्षेत्रमा सवारी साधान नविकरण, राजस्व तिर्नका लागि सेवाग्राहीलाई सहज होस भनेर सेवा कार्यालय खोल्नमा सहयोग गर्ने तयारी भएको मन्त्री न्यौपानेले बताउनु भयो । नेपालगन्जमा रहेको यातायात कार्यालय हाल भाडाको घरमा रहेको छ ।

नेपालगन्जको बुलबुलियामा रहेको कार्यालय आम नागरिकका लागि सहज ठाउँमा नभएको भन्दै बिरोध हुँदै आएको छ । यातायात कार्यालयका प्रमुखले राजनितिक प्रभाव र आर्थिक लोभमा यातायातको कार्यालयलाई जनताको पाएक नपर्ने ठाउँमा सारेको नेपालगन्जका स्थानीयहरुले आरोप लगाउँदै आएका छन् ।

शुक्रबार भएको छलफलमा नेपालगन्ज उप–महागरपालिकाका मेयर प्रशान्त विष्टले यातायात कार्यालयका लागि जग्गा उपलब्ध गराउनका लागि कार्यदल बनाएर काम गर्ने बताउनु भएको छ । उहाँले भन्नु भयो, ‘हामी छिटै उपयुक्त ठाउँ खोजेर यातायात कार्यालयलाई उपलब्ध गराउनेछौं । बाँकेको सदरमुकाम नेपालगन्जबाट यातायात कार्यालय सार्ने कुरा कदापी राम्रो होइन । बरु अन्य ठाउँमा सेवा विस्तार हुनु राम्रो हो । त्यसमा हाम्रो कुनै आपत्ति छैन ।’

नेपालगन्ज उप–महानगरपालिकाको कार्यालयमा भएको छलफलमा १ नम्बर वडा अध्यक्ष प्रमोद रिजाल, १८ नम्बर वडा अध्यक्ष दिपक बर्माले यातायात कार्यालय नेपालगन्जबाट सार्ने षडयन्त्र भैरहेकोले यस्तो नगर्न मन्त्रीलाई आग्रह गर्नु भएको थियो ।