घोराही-१९ द्वारा सुत्केरीलाई ब्लाङकेट

दाङ, १ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्बर १९ ले सुत्केरी महिलालाई ब्लाङकेट उपलब्ध गराएको छ । वडाले एक कार्यक्रमको आयोजना गरेर ब्लाङकेट वितरण गरेको हो ।

वडाभित्रका १२ जना सुत्केरी महिलालाई ब्लाङकेट वितरण गरिएको थियो । चिसो मौसममा बच्चा र सुत्केरीलाई चिसोबाट बचाउन ब्लाङकेट वितरण गरिएको वडाध्यक्ष ज्ञानबहादुर रायमाझीले जानकारी दिए । वडाको स्वास्थ्यचौकीमा नियमित गर्भवती जाँच गराउनेलाई ब्लाङकेट प्रदान गरिएको हो ।

नियमित स्वास्थ्य जाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले यस्तो सहयोग गरेको वडा कार्यालयले जनाएको छ । सहयोग कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष रायमाझीले जानकारी दिए । उनका अनुसार वडाको स्वास्थ्यचौकीमा गर्भवती जाँच नगराउनेले यस प्रकारको सहयोग पाउने छैनन् ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख ज्वलन्त खड्का, स्वास्थ्य शाखाका विशाल घर्ती मगर, महिला स्वास्थ्य स्वयम्सेविकाहरूको तर्फबाट निर्मला पुनलगायतले भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण वडा सचिव भीम केसीले गरेका थिए । कार्यक्रममा स्वास्थ्य शाखामा कार्यरत उत्कृष्ट कर्मचारी विशाल घर्ती मगरलाई सम्मान गरिएको थियो ।