आदिवासी जनजाति महासंघ दाङको अध्यक्षमा बुढा

टेकबहादुर पुन
दाङ, १ मंसिर । नेपाल लोकतन्त्र आदिवासी जनजाति महासंघ दाङको प्रथम जिल्ला अधिवेशनबाट कुलबहादुर बुढा मगर सर्वसम्मत चयन भएका छन् । संघको शुक्रवार घोराहीमा सम्पन्न प्रथम अधिवेशनले उनीसँगै २१ सदस्यीय जिल्ला समिति चयन गरिएको हो । जसको उपाध्यक्षमा लीलाधर श्रेष्ठ, सावित्रा गुरुङ, सचिवमा टोपेन्द्र पुन, सहसचिवमा गीता रोका मगर, पार्वती राना मगर निर्विरोध निर्वाचित भएका छन् ।
सदस्यमा कमलजंग गुरुङ, सीता पुन मगर, निशा राना, गायत्री थापा, ईश्वरबहादुर रोका, रोबरबहादुर घर्ती, गणेश कुमाल, सुशीला बोटे, दिलबहादुर घर्ती मगर, धनबहादुर कुसुन्डा, हिराबहादुर थापा मगर, राजेन्द्र गुरुङ र हिरा छन्त्याल चयन भएका छन् । अन्य एकजना सचिव र कोषाध्यक्ष भने समितिले मनोनित गर्नेछ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस दाङ जिल्ला सभापति शङ्करप्रसाद डाँगीले सिङ्गो पार्टीको जग भनेकै भ्रातृ तथा शुभेच्छुक संस्था रहेकाले यसको संगठन विस्तारमा तीव्र रूपमा लाग्नु पर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डाँगीले देशमा नेपाली कांग्रेसलाई ठुलो पार्टीको पहिचानमा पु¥याउने यिनै संगठनहरूको भूमिका महत्वपूर्ण रहेको बताए । पार्टीका प्रतिनिधि र संघसंगठनका पदाधिकारी सदैव आपसमा सहकार्य गरी अगाडि बढ्न सके कांग्रेस सदैव जनताको दल बन्ने कुरामा दुईमत नरहेको बताए । जनताको पक्षमा सधैँ अग्रणी स्थानमा रहेर काम गर्नु पर्ने बताउँदै उनले गुटउपगुटलाई त्यागेर सामीप्यता सहित अगाडि बढ्नु पर्ने कुरामा जोड दिए ।
महासंघकी ज्येष्ठ सदस्य देवीमाया थापाको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय सदस्य खगेश्वर थापाले आदिबासीहरू एकढिक्का भएर आफ्नो हकहितका निम्ति लाग्नु पर्ने बताए । व्यवस्था फेरिए पनि आदिबासी जनजातिका अवस्था उस्तै रहेको अवस्थालाई स्मरण गर्दै सधैँ पछि पारिएकोप्रति गुनासो पोखे । कार्यक्रममा संघका केन्द्रीय सदस्यहरू सावित्रा राना मगर, होमबहादुर शेरचन, प्रदेश २ क का सभापति प्रकाश श्रेष्ठ, दाङ जिल्ला उपसभापति गिरिराज सुवेदी, संघका प्रदेश २ ख का सभापति अभियान बस्नेत, नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावत, नेवा सेवा समिति जिल्ला अध्यक्ष बिमलमान श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए