विप्लव नेतृत्वको नेकपाले स्थानीय तह उपनिर्वाचनमा उम्मेदवारी नदिने

दाङ, २० कार्तिक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा भाग नलिने भएको छ । तर पार्टीले उम्मेदवार नउठाए पनि देशभक्त, वामपन्थी, जनप्रगतिशील उम्मेदवारलाई समर्थन गर्ने पार्टीको नीति रहेको स्थायी समिति सदस्य कर्णजित बुढाथोकीले जानकारी दिए ।

बुढाथोकीका अनुसार उपनिर्वाचनमा भाग लिने सम्बन्धमा पार्टीले कुनै निर्णय गरेको छैन ।  ‘स्थानीय तह उपनिर्वाचनमा भाग लिने सम्बन्धमा पार्टीले कुनै निर्णय गरेको छैन । यद्यपि देशभक्त, वामपन्थी, जनप्रगतिशील उम्मेदवारहरूलाई समर्थन गर्न सकिनेछ । यस सम्बन्धमा पार्टीले निर्णय गर्ला’, उनले मंगलबार रातोपाटीसँग भने ।

वैशाखमा बसेको केन्द्रीय समिति बैठकले ०८४ मा हुने आम निर्वाचनमा भाग लिने निर्णय गरेको थियो । यता विप्लवको सचिवालयले पनि उपनिर्वाचनमा भाग लिने पार्टीको नीति नरहेको बताएको छ ।आवश्यकता अनुसार समाजवादी मोर्चामा सहभागी दलका उम्मेदवारलाई समर्थन गर्न सकिने स्पष्ट पारेको छ ।