थारू गाउँजस्तै चखौराका संग्रहालय

Blog Post Ad Blog Post Ad Blog Post Ad

दुर्गालाल केसी

दाङ, १९ कार्तिक । कुनै थारू गाउँ र थारू समुदायको भान्सामा प्रवेश गरेको महसुस हुने दृश्यले सबैलाई नौलो र रोमाञ्चक अनुभूति गराउँछ । थारू संग्रहालयमा पुग्ने जो–कोहीलाई पनि थारू समुदायको कला, संस्कृति र जीवनशैली बुझ्न सहज हुन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दंगीशरण गाउँपालिका–३ चखौरामा स्थापना भएको थारू संग्रहालय अहिले गजबको गन्तव्य भएको छ । दसैं, तिहारको बिदामा घुम्न जानेहरूका लागि चखौरा संग्रहालय एक महत्त्वपूर्ण गन्तव्य भएको छ ।संग्रहालयमा थारू जातिको इतिहास र संस्कृति अवलोकन गर्न पाइन्छ । थारू संस्कृतिका परम्परागत गीत, नाच, चित्र, मूर्ति, नक्सा, पोसाक, गहना, आवास, पशुपालन, रहनसहन र परम्परागत सामग्रीले संग्रहालय हेर्न लायक भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

थारू गाउँको झल्को दिने परम्परागत घर, कोठा, गुरुवा र देउता राख्ने ठाउँ पनि तयार गरिएको छ । संग्रहालय पुग्दा थारू गाउँमा प्रवेश गरेको अनुभूति हुन्छ । थारू समुदायका पुराना गहना र कपडाहरू पनि संकलन गरिएको छ । थारू राजाहरूले कसरी राज्य गरेका थिए भन्ने झल्काउन मूर्ति र नक्सा कोरिएको छ । थारू जातिको संस्कृति र जीवनशैली हेर्न दर्शकहरू जाने गर्छन् । थारू जातिका पोसाक लगाएर फोटो खिच्न पाउने भएकाले दर्शकहरू झनै रमाउने गर्छन् ।

नेपालका सबै जातिका थारूहरूको इतिहास संरक्षण हुने गरी संग्रहालय बनाइएको छ । राना, डंगौरा, देउखुरी, चितवन, मोरङ लगायत सबै थारूको संस्कृति र इतिहास यहाँ देख्न पाइन्छ । यो थारू जातिको अध्ययन र अनुसन्धानको केन्द्रका रूपमा विकास भैरहेको छ । संग्रहालयबाट थारू जातिको जीवनशैली बुझ्न धेरै सहज भएको तुलसीपुर उपमहानगरपालिका–५ की नमिता शर्माले बताइन् । ‘संग्रहालयमा दाङ लगायत विभिन्न ठाउँमा बसोबास गर्ने थारू जातिको घर, भान्सा, कपडा, गहना, नाच र जीवनशैली देख्न पाइयो,’ उनले भनिन्, ‘यो थारू जातिबारे अध्ययन, अनुसन्धान गर्ने महत्त्वपूर्ण केन्द्र रहेछ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङमा थारू राजा दंगीशरणले शासन गरेका थिए भन्नेबारे विभिन्न खोज अनुसन्धान भएका छन् । दंगीशरण राजाको दरबारको भग्नावशेष उत्खनन पनि गरिएको छ तर त्यसको उचित संरक्षण हुन सकेको छैन । दाङको पश्चिम दक्षिणको भूभागलाई समेटेर दंगीशरण गाउँपालिका नामकरण गरिएको छ । लुम्बिनी प्रदेश सरकारको सहयोगमा विभिन्न संरचना निर्माण गरिएका छन् । थारू समुदायका पुराना सामान, गहना र पोसाक खोजेर राख्नुका साथै मूर्तिहरू बनाएर राखिएको छ । ५ बिघा क्षेत्रफलमा संग्रहालय बनेको छ । यसमा अहिले जग्गा र अन्य संरचनासहित ५० करोड बढीको सम्पत्ति रहेको संग्रहालय निर्माणको नेतृत्व गरेका प्रदेश सांसद् एवं पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

संग्रहालयमा थारू जातिका विभिन्न खानाका परिकार पनि खान पाइन्छ । संग्रहालयको अगाडि थारू राज्यका अगुवाहरूको मूर्ति र उनीहरूले शासन गरेको भूगोलको नक्सा तयार भएको छ । यसले थारू राज्यको इतिहासबारे जानकारी दिन्छ । संग्रहालयमा थारू जातिका वृत्तचित्र, चलचित्र र गीतहरू पनि प्रदर्शन गरिन्छ । यसबाट थारू जातिका विविधता र संस्कृति बुझ्न सहज भएको घोराही उपमहानगरपालिका–१४ का दीपेन्द्र बुढाले बताए । ‘दाङको आदिवासीका रूपमा चिनिने थारू जातिको परम्परागत जीवनशैली बुझ्न संग्रहालयबाट धेरै सहज भयो,’ उनले भने, ‘यसले थारू समुदायको इतिहास बचाउन र नयाँ पुस्तालाई जानकारी दिन राम्रो भूमिका खेल्ने देखिन्छ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

थारू संस्कृतिका ज्ञाता अशोक थारूले संग्रहालयमा आवश्यक चित्र, मूर्ति र सामग्रीहरूको खाका तयार पार्ने काम गरे । उनका अनुसार थारू जातिको इतिहास र संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्नुका साथै सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न संग्रहालयले महत्त्वपूर्ण भूमिका खेल्ने छ । ललितकलाका विद्यार्थी मिठ्ठु थारूले चित्र र मूर्ति बनाउने काम गरे । दाङ थारू जातिको उद्गम स्थल हो । बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पनि दाङबाटै थारूहरू बसाइसराइ गरेर गएको इतिहास छ । नेपालमा ठाउँ अनुसार थारू जातिका विभिन्न भाषा, भेषभूषा र संस्कृति छ । ती सबै विविधता संग्रहालयमा देख्न पाइन्छ ।