दाङ, १५ कार्तिक । जिल्ला प्रशासन कार्यालय दाङले दिपावली पर्वका अवसरमा खेलिने देउसी भैलोलाई मर्यादित बनाउन आग्रह गर्दै कुनै पनि व्यक्ति वा संस्थालाई आर्थिक दवाव वा रकम तोकेर देउसी भैलो सञ्चालन नगर्न अपील गरेको छ । बुधवार विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालयले सभ्य रुपमा देउसी, भैलो कार्यक्रम गर्न आग्रह गरेको हो । साथै देउसी भैलो कार्यक्रम रातीको १० बजेसम्म मात्रै सञ्चालन गर्न प्रशासनको आग्रह छ ।
सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनद्वारा हस्ताक्षरित विज्ञप्तिमा देउसी भैलो, नाँच गान गर्दा सार्वजनिक यातायात तथा जनजीवनलाई असर पर्नेगरी नगर्न पनि आग्रह गरिएको छ । साथै पटाका, आतिसबाजी जस्ता प्रज्ज्वलनशील एवं विस्फोटक पदार्थको उत्पादन, ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न नगराउन पनि प्रशासनले चेतावनी जारी गरेको छ ।
यसैगरी मादक पदार्थ लगायतका नशालु पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिक स्थलमा होहल्ला , झैझगडा गरी शान्ति सुरक्षालाई असर पार्ने कुनै पनि काम नगर्न, जुवा, तास लगायतका कानुन विपरितका कार्यहरू नगर्न, नगराउन पनि प्रशासनले अपील गरेको छ । प्रशासनले दिपावली, छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्णरूपमा मनाउन आग्रह गरेको छ ।