दाङ्ग, १० कार्तिक । घोराही-१८ को ढोडेनीमा लागु औषध दुव्र्यसनी तथा कारोवारीको जोखिम बढ्न थालेको महशुस स्थानियले गरेपछि त्यसको नियन्त्रणका लागि समुदायस्तरबाटै प्रयास थालेका छन् ।
घोराही १४ र १८ मा पर्ने ढोडेनीका विभिन्न १२ टोल विकास संस्थाले संयुक्त रुपमा सुधार समिति गठन गरेर नियन्त्रणका लागि समुदायस्तरबाटै प्रयास थालेका हुन् ।
सोही क्रममा शनिवार समुदाय, प्रहरी र जनप्रतिनिधीको सहभागितामा सचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ ।
१२ टोल विकास सुधार उच्च समितिका अध्यक्ष हुमबहादुर भण्डारीको अध्यक्षता तथा घोराही १८ का वडा अध्यक्ष भरतमणी अर्यालको प्रमुख आतिथ्य र वडा नंम्वर १४ का अध्यक्ष भानसिं बुढाको विशिष्ठ आतिथ्य र वडा प्रहरी कार्यालय घोराहीका प्रमुख सुरज सिंहको उपस्थितीमा एक औपचारिक कार्यक्रम गरेर छलफल तथा सचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको थियो ।
सामुदायमा बढ्दो लागू औषध दुव्र्यसन नियन्त्रण गर्न र युवाहरुलाई लागू औषधको कुलतबाट मुक्त गर्न घरपरिवार र समुदायको मुख्य भुमिका हुनेमा बक्ताहरुको जोड रहेको थियो । समाजमा बढ्दो लागूऔषध दुव्र्यसन रोक्न सबैको साथ सहकार्य र समन्वय आवश्यक रहेको प्रमुख अतिथी अर्यालले बताउनुभएको थियो ।
त्यसैगरी ढोडेनीकै युवा बिन गुरुङ्गले समुदायमा बढ्दै गरेको लागूऔषध न्यूनीकरणका लागि सचेतना फैलाउँदै आएका छन ।
ढोडेनीमा लागू औषधको कारोबारसँगै प्रयोगकर्ताको जोखिम बढ्दै गएको हुँदा नियन्त्रणमा प्रहरीको प्रयासलाई समुदायले पनि सघाउनुपर्ने घोराही १४ का वडा अध्यक्ष भानसिं बुढाले बताउनुभयो । १२ टोल विकास सुधार उच्च समितिका सचिव निमा घर्तिले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।