दाङ, १० कार्तिक । दाङमा आज बिहानै जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी जिप चालक दंगिशरण गाउँपालिका-४ बैबाङका २२ वर्षिय हिरामणी बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ६ का १९ वर्षिय सुरेश खड्काको मृत्यु भएको हो ।
दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
रोल्पाको कोईलाबाट तुलसीपुरतर्फ आइरहेको रा १ ज ८२२ नम्बरको डबल क्याब जिप तुलसीपुर-३ साततलेमा आज बिहान साढे ३ बजेतिर दुर्घटनामा परेको हो । जिप सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
जिपमा ५ जना सवार रहेको र अरु तीन जना पनि गम्भिर घाइते भएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।
दुर्घटनामा परी सल्यान कपुरकोट गाउँपालिका-६ बस्ने बर्ष ३१ कि देवा वली, उहाँको छोरा बर्ष १३ को महेश वली र १० वर्षिय जिवन वली गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।
तीनै जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । तीनै जनालाई राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज नर्सिङ होममा रिफर गरिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो