दाङ, ९ कार्तिक । राप्ती राजमार्ग अन्तर्गत पर्ने तुलसीपुरको एयरपोर्टदेखि बिरेन्द्रचोकसम्मको सडकको सिमा मापदण्डबारे तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्कालाई स्थानीयले ध्यानाकर्षणपत्र बुझाएका छन् ।
स्थानीयले सडकको मापदण्ड तत्कालिन समयमा तुलसीपुर नगर विकास समितिले तोकेको नै हुनुपर्ने मागसहित नगरप्रमुख खड्कालाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
ध्यानाकर्षणपत्रमा तत्कालिन तुलसीपुर नगरपालिकाले सहरीक्षेत्र विस्तारको क्रममा वडा नम्बर ५ सिमानादेखि टरिगाउँ विमानस्थलसम्म सडक केन्द्रबिन्दुको दायाँबायाँ कायम गरेको १५/१५ मिटर सिमालाई मान्यता दिनुपर्ने रहेको राप्ती राजमार्ग सरोकार मञ्चका अध्यक्ष नवराज लामिछानले बताउनुभयो ।
मञ्चका अध्यक्ष लामिछानेले सडकको मापदण्डबारे अन्यौलता हुँदा सवारी दुर्घटनाको जोखिम बढेको , घर भाडामा लगाउन नसकेको, घरजग्गा बिक्रिवितरणमा समस्या हुने गरेको, दुर्घटनाको जोखिम बढेको, घर नक्सापास रोकिएको लगायतका समस्या रहेको बताउनुभयो ।
मापदण्ड अनुसारको सडकमा स्तरोन्नति समयानुकुल हुनुपर्ने, कालोपत्रेको दायाँबायाँ नाला निर्माण हुनुपर्ने, १५ मिटर भित्रका खाल्डाहरु पुुर्नुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ । ध्यानार्षणपत्रमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ र ६ का ७ वटा टोलविकास संस्थाका २९४ जनाले संयुक्तरुपमा हस्ताक्षर गरेका छन् ।
तुलसीपुर उद्योग वाणिजय संघका पूर्व अध्यक्ष उत्तमकुमार श्रेष्ठले ‘क’ लाइनमा बनेका धेरै संरचना अहिलेकै मापदण्ड अनुसार नक्सा पास भएर बनेको हुँदा नयाँ मापदण्ड लागु भएमा ठुलो क्षति हुने बताउनुभयो ।
त्यस अवसरमा सडक डिभिजन कार्यालय दाङका प्रमुख दिपेन्द्र बहादुर बिष्टले राप्ती राजमार्गको पछिल्लो मापदण्डबारे जानकारी नभएको र अहिले नै भन्न नसकिने अवस्था रहेको बताउनुभयो ।
उहाँले पछिल्लो मापदण्ड अनुसार राजमार्गको केन्द्रदेखि दायाँबायाँ २५/२५ मिटर रहेको र त्यसमा पनि पक्कि संरचना बनाउँदा करिब ६ मिटर छोड्नुपर्ने मापदण्ड रहेको बताउनुभयो । उहाँले राप्ती राजमार्ग पहिले सहायक राजमार्गको रुपमा रहेको हुँदा पनि दायाँबाया १५/१५ तोकिएको हुन सक्ने बताउनुभयो । उहाँले बजारमा क्षेत्रमा रहेका खाल्डा पुर्न आवश्यक पहल गर्ने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले राप्ती राजमार्गको स्तरोन्नती गर्दा तुलसीपुर बजारलाई मात्रै भन्दै तुलसीपुर क्षेत्रभित्र पर्ने १३ नम्बर वडादेखि ३ नम्बर वडासम्म योजना बन्नुपर्ने बताउनुभयो ।
उहाँले संघिय सरकारको कार्यक्षेत्र भित्र पर्ने भएकाले पनि स्थानीय सरकारको पहुँचभित्र नभएको बताउनुभयो । तुलसीपुर बजारलाई सुन्दर र व्यवस्थित बनाउन स्थानीय सरकारले आवश्यक पहल कदम थाल्ने बताउनुभयो ।
नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्र प्रमुख शिवनारायण गोशलीले सडकको स्तरोन्नती हुँदा विद्युतका संरचना हटाउने बताउनुभयो । कार्यक्रमको सहजीकरण पत्रकार चेतन रेग्मीले गर्नुभएको हो ।