छवि पुरी
दाङ, ६ असोज । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ११ हापुरमा करीव १ सय ८५ घरपरिवार रहेको गन्धर्व बस्ती छ । त्यही बस्तीको मझेरा टोलमा बस्नुहुन्छ, ५५ वर्षीय गुट्टु गन्धर्व । दाङमा गन्धर्व समुदायको सबैभन्दा ठूलो बसोबास पनि त्यहीँ छ । पुख्र्यौली पेशाका रुपमा रहेको सारङ्गी बाजा बजाउँदै उहाँले जहान परिवार पाल्दै आउनुभएको छ । गुट्टुका लागि जीवनको सहारा नै सारङ्गी बनेको छ ।
आफु सानो छँदा बाउबाजे सल्यानको खलङ्गाबाट बसाई सरेर दाङ झरेपछि उहाँको साथी नै सारङ्गी भयो । सल्यानमै जन्मिनु भएका गुट्टु सानैमा परिवारसँगै दाङ झरेपछि उहाँको परिवार शुरुमा नारायणपुरमा बसेको थियो । उनीहरु बसेको जग्गा स्कुलको पर्ने भएपछि त्यहाँबाट हापुर सर्नुभयो । २०२६ सालमा बुबा पूर्णबहादुर गन्धर्व र आमा चमेली गन्धर्वको जेष्ठ सुपुत्रका रूपमा जन्मिनुभएका गुट्टुले निमा गन्धर्वसँग विवाह गरेपछि घरव्यवहारको जिम्मेवारी बढ्दै गयो ।
बाल्यकालदेखि आफ्नो बुवासँगै गाउँघर मेलापात गर्न थाल्नुभएका गुट्टुले जीवनका कैयौँ यामलाई सारङ्गीको धुन सुनाई सक्नुभएको छ । १४÷१५ वर्षको उमेरमै बुबासँगै गाउँघरमा गाउन हिड्दा हिड्ँदै अहिले चार दशक बिताई सक्नुभएको छ ।
सारङ्गी रेट्दै घरघरमा पुग्नु हुने गुट्टुले मिठो धुनको सुरमा गीत सुनाउँदै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका गाउँबस्तीमा पाइला टेकी सक्नुभएको छ । बाल्यकालमा विद्यालयको प्रांगण नटेक्नु भएका गुट्टुले दाङदेखि पूर्वी नेपालका झापा, इलाम, काठमाडाँै, पोखरादेखि सुदूरपश्चिमका विभिन्न गाउँबस्तीमा धेरै पटक पाइला टेकी सक्नुभएको छ । देशका धेरै ठाउँमा सारङ्गी बजाउँदै गीत सुनाउँदा स्थानीयबाट पाउने माया र सम्मान मनमा संगालेर राख्नुभएको छ ।
‘सारङ्गी रेटेर गीत गाउन थालेको ४० वर्षभन्दा धेरै भयो, सारङ्गी बजाउँदा आफू अझै उस्तै छु जस्तो लाग्छ तर जीवनका धेरै याम बितेर गईसकेछ मेरो बुवाले मलाई नासोको रुपमा छाडेर जानु भएको सारङ्गी घरमै राखेको छु गुट्टुले भन्नुभयो मैले ३५ वर्षदेखि आजका दिनसम्म बजाई रहेको यो सारङ्गी मेरो कान्छा बुवाले दिनुभएको हो । यसैले म, मेरो परिवार र भाइको गुजारा चलेको छ । गुट्टुसँगै उहाँका दृष्टिविहिन भाइ निमबहादुर गन्धर्व पनि गाउन जानुहुन्छ ।
गुट्टुले सारङ्गी बजाउन जाँदा कसैले राम्रो मानेर गीत सुन्न खोज्छन् त कसैले बाहिरबाट पठाउछन् । उहाँसँग सारङ्गी बजाउन हिडेको बेलाका तितामिठा अनुभव पनि छन् । ‘सारङ्गीले उहाँलाई धेरैथोक दियो । मेरो परिवार पाल्ने माध्यम नै यही हो । ८–१० कट्ठा जगा भएको भए खेतीपाती हुन्थ्यो तर ऐलानी जग्गामा बसेको छु । ५५ वर्षको भएँ । यहीबाट मैले मेरो पहिचान बनाउन पाएको छु । यही नै मेरो सर्वथोक हो’ गुट्टु भन्नुहुन्छ ।
सारङ्गीमा घोडी नभए बज्दैन । बाख्राको छाला, घोडाको पुच्छर, बाँस, धनके, स्टीलको तार, बाख्राको आन्द्राबाट बनेको तार, मुड्का, अतारी, खमारीको काठको संयोजनबाट मात्रै सुन्न लायक सारङ्गी बन्छ । त्यही सारङ्गीको तारमा रेटेर निस्कने करुण रसले मन छुने गीतको भाका निकालेर गुट्टुले धेरैलाई सुनाउँदै आउनुभएको छ ।
जग्गा जमिन केही नभएपनि सारङ्गीको धुन र गीत गाएरै परिवारको जीविका चलाउँदै आएको उहाँको भनाइ छ । सात वटी छोरीमध्ये पाँचको विवाह गरिसक्नुभएका गुट्टुले दुई छोरीलाई अहलिे तुलसीपुर– १७ स्थित मावि दुधरासमा कक्षा आठ र ११ मा पढाई रहनुभएको छ । आफूले नपढे पनि छोरीलाई पढाउँदै आउनुभएको छ ।
सारंगीको धुनै मिठो, बज्यो भने मिठास आउँछ । जीवन बजेको महसुस हुन्छ । त्यसरी नै उहाँले आफ्नो जीवनलाई मिठासपूर्ण बनाउने कोशिसमा सारङ्गीको धुनसँग जीवन मिसाउनु भएको छ ।
संचारको माध्यम बाजा, पहिले समाचार सन्देश दिने काम हुन्थ्यो । तर, अचेल विदेशी बाजाले यसको महत्व घट्दै गएको छ । उहाँको बस्तीका १०–१५ जनाले मात्रै अहिले सारङ्गी बजाउछन् । कोही विदेश लागे, कोही ज्याला मजदुरी गर्छन् तर गुट्टुले सारंगी बजाउन छाड्नु भएको छैन ।
सारङ्गीको आफ्नै महत्व छ तर नयाँ पुस्ताले बजाउन छाड्दै जाँदा उहाँलाई पहिचान र अस्तित्व मेटिने हो की भन्नेमा चिन्ता छ । ‘यहाँ पनि गन्धर्व थिए रे, सारङ्गी बजाउँथे भन्ने दिन नआउला भन्न सकिन्न । आफ्नो पहिचान जोगाउन हामी आफै लाग्नुपर्छ । हिजो गाईने भन्नेहरु अहिले गन्धर्व दाई भन्छन् । भाषा र सम्मान फेरिएको छ । कामले नै कामको सम्मान दिन्छ’ उहाँले भन्नुभयो ।
हिजो गाउँघर जताततै जाँदा सम्मान पाईने गरेको भएपनि नेपालमा सशस्त्र द्वन्द्व शुरु भएपछि हराउँदै गएको उहाँ बताउनुहुन्छ । माओवादी द्वन्द्वपछि सारङ्गी बजाउने पेशामा पनि संकटमा पर्दै गएको उहाँको अनुभव छ । ‘सारङ्गी बोकेर आएको छ अरु केही होकी भनेर त्यो बेलामा धेरैले शंका गर्न थाले । गाउँका मानिस बजार तिर बसाई सरे अनि हामीलाई पनि अप्ठ्यारो पर्न थाल्यो’ विगत सम्झँदै गुट्टुले भन्नुभयो ‘अहिले पनि सारङ्गी बाजाको महत्व बुझ्नेहरुले सम्मान गर्छन् ।’ सारङ्गीको विकल्पमा भायोलिन आएपछि विदेशी बाजाले बिस्थापन गर्न खोजेको उहाँको बुझाई छ । तर अहिले पनि सारङ्गी प्रतिको लगाव पश्चिम क्षेत्रमा भन्दा रोल्पा, रुकुम, पोखरा, पूर्व इलाम, झापा तिर धेरैले सुन्ने गरेको उहाँ बताउनुहुन्छ ।
दशैँ आउन अब धेरै दिन छैन । दशैँमा बजाईने मालश्री धुन सारङ्गीबाट निस्कन्छ । मालश्री धुन निकाल्न सक्ने गन्धर्व दाङमा औँलामा गन्ने भईसके । गुट्टुले मालश्री धुन निकाल्न सक्नुहुन्छ । यो धुन जोकोहीले निकाल्न सक्दैनन् । ‘पहिले बाजेले बजाए, बुवाले बजाउनुभयो । अहिले मैले मालश्री धुन बजाउन जान्छु । पहिलेदेखिको चिनारु भएको घरमा अनिवार्य जाने गरेको छु । मालश्री धुन बजेपछि दशैँ आएको सन्देश हुन्छ’ उहाँले भन्नुभयो ।
मालश्री धुन बजाउनेहरु अहिले गन्धर्व टोलमा ३ जना मात्रै छन् । अरुले जान्दैनन् । मंगल धुन बजाउन पनि नयाँ पुस्ताले जान्दैनन् । यो सिक्न तर्फ नयाँ पुस्ताको चासो छैन । यसले अबको पुस्तामा हस्तान्तर चुनौति देखिएको छ । आधुनिक गीत संगीतमा आकर्षण बढ्दा सारङ्गी पछि पर्ला भन्ने पीर उनीहरुमा छ ।
यति मात्रै होईन, सारङ्गीमा पनि र्याप शैलीमा पश्चिमा भाका गाउन थालेपनि यसको मौलिकता ओझेलमा पर्ने अवस्था छ । सारङ्गीको मौलिकता एकातिर, गीत अर्कोतिर, बुझाई अरु तिर हुँदा समस्या भएको छ ।
‘सारङ्गी बजाउँदा कुन ठाउँमा कसरी, कुन बेलामा कस्तो, कुन समय परिवेश हो त्यही अनुसार बजाउनुपर्छ भन्ने बुझ्नुपर्छ’ गुट्टुले भन्नुभयो ‘बिहान बजाउने, दिउँसो बजाउने, साँझ बजाउने, चाडपर्वहरुमा बजाउने सारङ्गीको धुन नै फरक हुन्छ । यो नबुझेर अहिले मनलाग्दी बजाई दिँदा समस्या बढेको छ । यसको पनि आफ्नै मापदण्ड र मौलिकता छ । कसैले गलत काम गर्दा सिंगो गन्धर्व समुदायको पेशा र पहिचानमा असर पुग्ने काम गर्नुहुदैन ।’
गुट्टुसँगै भाइ निमबहादुरले पनि परिवारको गुजारा चलाउँदै आउनुभएको छ । आफु दृष्टिविहिन भएपनि ७६ वर्षका आमाबुवाको पालनपोषण आफुले कमाएको पैसाबाट चलेको निमबहादुर बताउनुहुन्छ । ‘सुखले हिडेको हैन । दुखले हिडेको हो । दुखले जीवन सिकाएको छ । जे लेखेको छ, त्यो भोग्नुपर्दो रहेछ । आजका दिनसम्म यसरी नै घर गृहस्थी चलेको छ’ निमबहादुरले भन्नुभयो ।
गन्धर्व परिवारका लागि सारङ्गी केवल सारथी मात्र होइन, परिवारको जीविका चलाउने माध्यम पनि हो । बिरामी श्रीमती, छोरी र नानातिनालाई पालनपोषणसँगै दुःख बिरामी पर्दा आवश्यक पर्ने पैसा जोहो गर्ने माध्यम पनि सारङ्गी हो । महिनामा १०–२० हजार रुपैयाँसम्म सारङ्गी बजाएर उहाँले पैसा जोगाउनुहुन्छ । त्यही रकमले परिवारको घरखर्च चलेको छ ।
सारङ्गी बाजा नेपालको परम्परागत बाजा हो । यो बाजाले गहिरो भावना र लोककथाहरू प्रकट गर्ने गर्दछ । चार वटा तार जडिते धुनात्मक बाजाले नेपालका लोक गीत र लोक संस्कृतिसँग नजिक मानिन्छ । हुन पनि सारङ्गीले नेपालको लोक संगीत र संस्कृतिको धरोहरलाई जीवित राख्न ठूलो भूमिका खेलेको छ । ग्रामीण जीवनशैली, संघर्ष र भावना अभिव्यक्त गर्न सारङ्गीको धुन सबैभन्दा उपयुक्त माध्यमका रुपमा समेत लोक पारखीहरुले लिने गरेका छन् ।
गन्धर्व समुदायले सारङ्गी बजाउँदै आफ्नो सांस्कृतिक परम्परालाई जीवित राख्ने संघर्ष गरिरहेका छन् । उनीहरूको परम्परागत पेशामा देखा पर्दै गएको चुनौती र नयाँ पुस्तामा देखिएको सांस्कृतिक विचलनलाई चिर्न ध्यान दिनुपर्ने देखिन्छ । यसका लागि स्थानीय सरकार र समुदायको सहकार्यले मात्र गन्धर्व समुदायको पहिचानको रुपमा रहेको सारङ्गी बजाउने सांस्कृतिक पेशालाई जोगाउँदै उनीहरुको जीवनस्तर सुधारमा टेवा पुर्याउन सकिन्छ ।