दाङमा बढ्दै डेङ्गु, दुई महिनामा डेढसय बढी सङ्क्रमित

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २८ भदौ । दाङमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा करिब दुई महिनाको अवधिमा डेढसय बढी डेङ्गु सङ्क्रमित भएका छन् । यद्यपि स्वास्थ्य कार्यालय दाङले भने साउनदेखि भदौ २७ गतेसम्म जिल्लामा एक सय नौ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

नियमित पानी पर्न थालेसँगै जिल्लाका दश स्थानीय तहमध्ये सहरी क्षेत्रमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेको जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन् । खास गरी घोराही र तुलसीपुर क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढी देखिएको उनले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल र घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य जाँचका क्रममा आएका बिरामीमध्ये दुई महिनाको अवधिमा एक सय नौ जनामा डेङ्गु सङ्क्रमण देखिएको फोकल पर्सन चन्दले बताए । निजी अस्पतालहरूमा डेङ्गु परीक्षण हुने भए तापनि त्यहाँबाट तथ्याङ्क नआउँदा जिल्लामा डेङगु सङ्क्रमितको यकिन तथ्याङ्क आउन नसकेको चन्द बताउँछन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार प्रतिष्ठानमा साउनमा एक हजार चार सय ७६ जनाको परीक्षण गर्दा २२ जना र भदौ महिनाको २७ गतेसम्म एक हजार तीन सय १८ जनाको परीक्षण गर्दा ५५ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । सूचना अधिकारी भट्टराईका अनुसार २०८० साउनदेखि २०८१ असारसम्म प्रतिष्ठानमा ७६ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो । यसैगरी तुलसीपुर क्षेत्रमा साउन र भदौ महिनाका करिब दुई सय २० जना बढीको जाँच गर्दा ८९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको तुलसीपुर जनस्वास्थ्य प्रवर्धन शाखाले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

डेङ्गुको जोखिम बढेपछि तुलसीपुर उपमहानगरपालिकाले केही समय अघिदेखि डेङ्गुबाट बच्नका लागि प्रत्येक शुक्रवार लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान समेत चलाएको छ । सङ्क्रमितमध्ये २० बढी अस्पतालमा उपचार गराइरहेका छन् । तुलसीपुरमा गत वर्ष एक सय ९१ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो । स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन चन्दले वर्षात सुरु भएसँगै जिल्लामा डेङ्गु सङ्क्रमण बढ्न थालेको भन्दै सङ्क्रमणबाट बच्नका लागि सावधानी अपनाउन आग्रह गरेका छन् ।

पछिल्लो समय जिल्लामा तुलसीपुर र घोराहीको सहरी क्षेत्रमा सङ्क्रमितको सङ्ख्या बढेको भन्दै फोकल पर्सन चन्दले भने, ‘सहरी क्षेत्रमा टिनका र रँगका खाली डब्बा, सिसी, टायर, गमला, पानी ट्याङ्की जस्ता पानी जम्ने भाँडा जथाभावी रूपमा फालिने र तिनैमा लामखुट्टे बस्ने मानिसमा डेङ्गु सार्ने समेत जोखिम रहने भएकाले सावधानी अपनाउनु पर्छ ।’ पानी जम्ने सामग्रीहरू घर वरपर नराख्न भन्दै चन्दले घोराही र तुलसीपुरसँगै लमही, भालुबाङ, गढवा, नारायणलगायतका सहरी क्षेत्र पनि डेङ्गुको जोखिममा रहेकाले सचेतना अपनाउन आग्रह गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

डेङ्गु सङ्क्रमण बाह्रैमहिना देखिने भए पनि मौसमका कारण वर्षातको समयमा बढी जोखिम हुने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । लामखुट्टेले फुल पार्ने वातावरण प्राप्त गरिरहेकाले सङ्क्रमण बढेको भन्दै लामखुट्टेको लार्भा नष्ट गर्नका लागि पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिई नियमित सरसफाइ गर्ने, आफनोे घर वरिपरि सफा गर्ने, घरको झ्यालढोकामा जाली लगाउने, बाहुला भएको वा शरीर ढाक्ने कपडा लगाउने, लामखुट्टे भगाउने धुप बालेर बस्नु पर्ने बताएका छन् । डेङ्गु सङ्क्रमण देखिएमा कमजोर मानिसको मृत्यु समेत हुने खतरा हुने भएकाले बिरामी, गभर्वती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिक, बालबालिकासँगै एक पटक सङ्क्रमित भइसकेका बिरामीले विशेष सतर्कता अपनाउनु पर्ने बताउँछन् ।

उनका अनुसार डेङ्गु सङ्क्रमण बढ्न थालेपछि ‘लामखुट्टेका लार्भा खोजौँ र नष्ट गरौँ’ अभियान जिल्लाका केही स्थानमा चलेको समेत बताए । डेङ्गु सङ्क्रमित हुँदा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउने जस्ता लक्षण देखा पर्छन् । यस्तै वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुनेजस्ता लक्षण देखा पर्ने चिकित्क बताउँछन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कसरी सर्दछ ?

लामखुट्टेले जब एउटा डेङ्गु रोगीलाई टोक्दछ, सो व्यक्तिबाट उसले डेङ्गु भाइरस लिन्छ । जब त्यो लामखुट्टेले अरू मानिस वा जनावरलाई टोक्दा भाइरस पनि छोड्दछ । डेंङ्गु ज्वरोबाट पीडित बिरामीलाई टोकेको स्वस्थ लामखुट्टेमा पनि डेङ्गु भाइरसको सङ्क्रमण हुन्छ र सो लामखुट्टेले अरूलाई टोक्दा भाइरस सर्दछ । डेङ्गु भाइरस बोकेको लामखुट्टेले आफ्नो प्रत्येक अण्डामा पनि भाइरस सार्दछ । त्यसबाट जन्मेका लामखुट्टेले डेङ्गु भाइरस बोकेको हुन्छ । यसका साथै अव्यवस्थित सहरीकरण, फोहोरमैला, ढल निकासलगायतका मौसम परिवर्तनका कारणले पनि डेङ्गुको सङ्क्रमण बढाउने गरेको पाइन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad