दाङ : वैदेशिक रोजगारका नाममा २४ जनाबाट दुई करोड बढी ठगी

Blog Post Ad Blog Post Ad Blog Post Ad

सुवास गोतामे

दाङ, ११ भदौ । रोजगारीका लागि युरोपियन मुलुक ग्रीस पठाइदिने भन्दै २४ जनाबाट दुई करोड बढी रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको लमही नगरपालिका–४ का देव सुनार र भीमकुमार सुनार रहेका छन् । उनीहरूलाई भारतको दिल्लीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । ​सुनारद्वयलाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको वैदेशिक रोजगार ठगी पिलरबाट प्रहरी दिल्ली पुगेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दिल्लीस्थित थानाका एसपीको कमाण्डमा खटिएको टोलीले सुनारद्वयलाई पक्राउ गर्न सहयोग गरेको थियो । सुनारद्वयले आफूहरूलाई पक्राउ नगरे एक घण्टाभित्र ५० लाख रुपैयाँ दिने प्रलोभनसमेत देखाएका थिए । तर, अनुसन्धान कार्यालयका प्रहरी टोलीले जसरी पनि पक्राउ गरेर नेपाल लैजाने बताएपछि दिल्ली प्रहरीले राति नै सुनारद्वयलाई नेपाल प्रहरीको जिम्मा लगाएको थियो । दिल्लीको पहाडगञ्जमा मासिक १२ हजार भारतीय रुपैयाँ भाडा पर्ने फ्लाट लिएर बसेका सुनारद्वयले दुई जना नेपालीलाई १० महिनादेखि बन्धक बनाएर राखेको समेत पाइएको छ । बन्धक बनाइएका पीडित दुई युवाले प्रहरीमा अपहरण तथा शरीर बन्धक मुद्दा दिने तयारी गरेका छन् ।

सुनारद्वयको ठगीको धन्दा भने गजबको छ । प्रहरीका अनुसार ग्रीसमा रोजगार दिलाइदिने नाममा उनीहरूले सुदूरपश्चिमदेखि पूर्वझापासम्मका व्यक्तिलाई ठगी गरेका छन् । गत वर्ष असारसम्म सुनारद्वयले २४ जनाबाट जनही १० देखि १२ लाख रुपैयाँ उठाएका थिए । पैसा उठाइसकेपछि उनीहरू एकाएक सम्पर्कविहीन भएका थिए । पीडितले फोन गर्दा नउठाउने र उठाइहाले पनि विदेश पठाईदिने बचन दिन्थे । प्रहरीका अनुसार कतिलाई पैसा फिर्ता दिने आश्वासन पनि दिएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पीडितमध्येका एक नवराज बडुवाललाई ग्रीस पठाउने भन्दै सुनारद्वयले ३८ लाख रुपैयाँ ठगी गर्न भ्याए । त्यो पनि बैंक खाता प्रयोग गरेर । केहीपीडितबाहेक सबैले बैंक खाताकै माध्यमबाट उनीहरूलाई रकम दिएको देखिन्छ ।

अपराध अनुसन्धान कार्यालयमा भेटिएका पीडित मध्येकी सुष्मा तामाङका अनुसार ग्रीसमा लैजाने भन्दै उनीसँग १२ लाख रुपैयाँ लिएका थिए । तर, गत असारबाटै सम्पर्कविहीन भएका सुनारद्वयलाई पक्राउ गरी कारबाही गर्न तामाङसहित अन्य पीडितले वैदेशिक रोजगार विभागमा उजुरी हालेका थिए । विभागले गत वर्ष चैत १३ मै अनुसन्धान कार्यालयमा पत्र पठाउँदै सुनारद्वयलाई पक्राउ गरी सहयोग गर्न भनेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सुनारद्वयलाई पक्राउ गर्न पीडित नै प्रहरीसँग दिल्ली पुगेका थिए । काठमाडौं ल्याएपछि अनुसन्धान कार्यालयमा पीडितहरूको भीड लागेको थियो । ‘हामीलाई ठगी गरेको रकम चाहियो, पैसा दियो भने हामी मुद्दामा जाँदैनौं नत्र मुद्दामा जान्छौं,’ पीडित मध्येकी एक महिलाले भनिन्, ‘यिनीहरूको सम्पत्ति रोक्का गरेर भएका जायजेथा बेचेर भए पनि हाम्रो पैसा फिर्ता दिलाउनुपर्छ ।’

लामो प्रयासपछि प्रहरी उनीहरूलाई पक्राउ गर्न सफल भएको हो । ‘सुनारद्वयले पश्चिममा नेपालगन्ज, दाङ, कञ्चनपुर, पूर्वमा झापा, मोरङ, सुनसरीसँगै उपत्यकाका तीनवटै जिल्लाका व्यक्तिलाई ठगी गरेको देखियो,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘लामो प्रयासपछि दिल्लीबाट ल्याउन सफल भयौं ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

अनुसन्धान कार्यालयले सुनारद्वयलाई विभागमा बुझाएको छ । कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार वैदेशिक रोजगारीको प्रलोभन देखाएर यी दुई जनाले दुई करोड बढी ठगी गरेको देखिन्छ । ‘पीडितबाट रकम संकलन गरेर सम्पर्कविहीन भएपछि उजुरी विभागमा परेको थियो, पक्राउ गरेर सहयोग गरिदिन अनुरोध गरेपछि पक्राउगरी बुझाइदिएका हौं,’ भट्टराईले भने, ‘ सुनारद्वय विगत १० महिनादेखि भारतको दिल्लीमा लुकेर बसेको देखियो ।’

वैदेशिक रोजगार विभागका प्रवक्ता गुरुदत्त जोशीले सुनारद्वलाई प्रहरीले बुझाएको र पीडितले दिएको जाहेरीअनुसार मुद्दा दर्ता हुने बताए । उनले भने, ‘पीडितले दिएको जाहेरीअनुसार मुद्दा दर्ता हुन्छ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad