चेतन वली
दाङ, ५ भदौ । दाङको दंगीशरण गाँउपालिका–३ का युवाहरुले आफ्नो टोलमा जनप्रतिनिधिहरुलाई प्रवेशमा रोक लगाएका छन् । दंगीशरण–३ को रावतगाँउस्थित पहाडी टोलका युवाहरुले जनप्रतिनिधिले लामो समयदेखी सडक मर्मतमा चासो नदेखाएको भन्दै बिच सडकमा जनप्रतिनिधिलाई प्रवेशमा निषेध गरिएको छ भन्ने ब्यानर टासेर प्रवेशमा रोक लगाएका हुन् ।
हेकुलीदेखी थोरै पश्चिमतर्फ गएपछि उत्तरतिरको गाउँ हुदै चखौरा जोड्ने बाटो विग्रिएको २ महिना हुदासम्म मर्मतमा स्थानिय सरकारले वास्ता नगरेपछि जनप्रतिनिधिलाई प्रवेशमै निषेध गरिएको स्थानिय युवा भरत भण्डारीले जानकारी दिनुभयो । बाटो मर्मत नहुदासम्म जनप्रतिनिधिलाई गाउँमा छिर्न नदिने योजना बनाएर युवाहरु अगाडी बढेको उहाँले बताउनुभयो ।
यसका लागी भोली बिहिबार युवाहरुको समुह पालिकामै जाने तयारीमा रहेको समेत उहाँले बताउनुभयो । यता दंगीशरण गाँउपालिका–३ का वडाअध्यक्ष सुकलाल चौधरीले सडक मर्मत गर्नुपर्ने अवस्था रहेको स्विकार गर्नुभएको छ । सडकमा ग्राभेलको आवश्यकता पर्ने भएकाले अहिले नदि खोलामा मेसिन हाल्न नपाइने हुदा समस्या भएको उहाँले बताउनुभएको छ । स्थानियले श्रमदान गरेको अवस्थामा भने पालिकाबाट गाडीको व्यवस्था गरेर सडकमा ग्राभेल गर्न सकिने उहाँले बताउनुभयो ।
श्रमदानको विकल्प नरहेको भन्दै वडाअध्यक्ष चौधरीले स्थानिय जनताले सहयोग नगरेको अवस्था भने अब गिट्टी बालुवा खुलेपछी मात्रै मेसिनबाट ग्राभेल उठाएर बाटोमा राख्न सकिने बताउनुभएको छ ।