तुलसीपुरले ल्यायो स्वास्थ्य बिमा कार्यविधि

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २६ बैशाख । तुलसीपुर उपमहानगरपालिकाले स्वास्थ्य बिमा संयोजन समिति गठन÷सञ्चालन गर्न बनेको कार्यविधि–२०८१ सोमबारदेखि लागु हुनेगरी स्वीकृत गरेको छ । उक्त कार्यविधि तुलसीपुर उपमहानगरपालिकाको १५ औं कार्यपालिका बैठकले स्वीकृत गरेको हो ।

कार्यविधिको प्रस्तावनामा भनिएको छ– ‘प्रत्येक स्थानीय तहमा स्वास्थ्य बिमासम्बन्धी कार्यक्रम कार्यान्वयनमा सहजीकरण गर्नेलगायतका काम गर्न नेपाल सरकारको स्वास्थ्य बिमा नियमावली–२०७५ को नियम २६ ले तोके बमोजिम स्वास्थ्य बिमा संयोजक समिति रहनेछ भन्ने व्यवस्थालाई कार्यान्वयन गर्दै कार्यविधि स्वीकृत गरिएको छ ।’ कार्यविधि नेपालको संविधान २०७२ को धारा २ सय २६ मा भएको व्यवस्था तथा स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले दिएको अधिकार प्रयोग गरी स्वीकृत गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

संघीय सरकारले स्वास्थ्य बिमासम्बन्धी कार्यविधि बनाएका पालिकाका नागरिकको आँखा स्वास्थ्यमा पनि बिमा शर्त लागु गरिने नीति ल्याएसँगै कार्यविधि स्वीकृत गरिएको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘सरकारले यसअघि पनि बिमामार्फत निजी आँखा अस्पतालहरुमा पनि उपचार हुने व्यवस्था मिलाएको थियो । बीचमा केही समय रोकियो र अहिले कार्यविधि बनाएका पालिकाहरुमा सूचीकृत आँखा अस्पतालमा बिमामार्फत एक लाख रुपैयाँसम्म निःशुल्क आँखा उपचार हुने नीति ल्याएको छ । योसँगै स्वास्थ्य बिमा गरेकाहरुले अन्य सेवासँगै आँखा स्वास्थ्यमा पनि सुविधा पाउने भएका छन् ।’

तुलसीपुर उपमहानगरपालिकाले २०७५ सालदेखि नै उज्यालो तुलसीपुर अभियान सञ्चालन गरेर मोतीबिन्दु भएकाहरुको निःशुल्क शल्यक्रिया गरिदिने व्यवस्था गर्दै आएको छ । यद्यपि स्वास्थ्य बिमामार्फत आँखासम्बन्धी अन्य समस्या भएकाहरुले पनि निःशुल्क उपचार पाउनेछन् । अहिले तुलसीपुर उपमहानगरपालिकामा आँखा स्वास्थ्यका लागि दैनिक आठदेखि १० जना सिफारिसका लागि आउने गरेको जनस्वास्थ्य निरीक्षक केसीले बताउनुभयो । बिमामार्फत आँखासम्बन्धी उपचार हुने भएपछि पालिकाको व्ययभार घट्नेसमेत उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा खटिएका बिमाकर्ताबाट स्वास्थ्य बिमा गर्न सकिन्छ । बिमा गर्दा प्रतिपरिवार पाँचजनाको तीन हजार पाँच सय रुपैयाँ लाग्छ भने त्योभन्दा बढी संख्या भए प्रतिव्यक्ति सात सय रुपैयाँका दरले अतिरिक्त शुल्क लाग्छ । साथै एचआइभी, हिमोफिलिया, एमडिआरटिबी, सिकलसेल एनिमिया, थाल्सिमिया संक्रमित तथा रातो कार्डप्राप्त अपांगता भएका व्यक्ति र ७० वर्ष नाघेका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बिमा हुन्छ । साथै महिला स्वयंसेविकालाई स्वास्थ्य बिमामा ५० प्रतिशत छुट हुने सिअहेव अधिकृत विष्णुकुमार गिरीले बताउनुभयो । स्वास्थ्य बिमा गरेका व्यक्तिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र राप्ती आँखा अस्पताल रक्षाचौरबाट स्वास्थ्य सेवा लिन सक्ने गिरीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad