दाङ, मंसिर २४ । दाङमा प्लाष्टिकको झोलाको विकल्पको रुपमा कागजको झोलाको माग बढ्दै गएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ फुर्सेखालीस्थित शान्ति पेपर व्याग उद्योगले उत्पादन गर्दै आएको कागजको झोलाको माग बढ्दै गएको हो ।
प्लाष्टिकको झोला प्रयोगपछि विसर्जन गर्न समस्या हुने र वातावरणीय प्रदुषण समेत हुने भएपछि कागजको झोलाको प्रयोग गर्दा त्यस्तो समस्या नहुँने भएकाले दैनिक माग बढ्दै आएको उद्योगका सञ्चालक अमितसिंह ठकुरीले बताए ।
‘जिल्लामा र जिल्ला वाहिरबाट माग आइरहेको छ , माग भएअनुसार पुर्याउने प्रयास गरिरहेका छौं’, उनले भने ।
विसं २०७४ भदौ १ गतेबाट सानो लगानीमा शुरु गरिएको उद्योगमा अहिले रू।२५ लाख लगानी भइसकेको छ । उद्योगले उत्पादन गरेको कागजको झोला अहिले जिल्लाका मूख्य बजार घोराही, तुलसीपुर, लमहीमा खपत हुने गरेका छन् भने पोखरा, धनगढी, मोरङ, विरगञ्ज र जनकपुरसम्म पठाउने गरिएको सञ्चालक ठकुरीले बताए ।
‘जिल्लाका बजारमा त खपत छँदैछ तर वाहिरी जिल्लाहरुमा पनि यहाँ उत्पादन गरेको झोलाको माग बढी छ’, उनले भने, ‘माग अनुसार वाहिर पनि पठाउने गरेका छौं ।’
उद्योगको क्षमता दैनिक २ हजार ५०० झोला उत्पादन गर्ने हो तर विभिन्न समस्याका कारण क्षमता अनुसार झोला उत्पादन गर्न नसकिएको सञ्चालक ठकुरीको भनाइ छ । झोलाको मूल्य साइजअनुसार रू।७ देखि रू।१० सम्म रहेको छ ।
प्लाष्टिकको झोलाको मूल्यभन्दा केही मंहगो भएपनि यसको फाइदा धेरै भएकाले यसमा ग्राहकको आकर्षण वढी छ ।
शुरु–शुरुमा झोला हातले उत्पादन गरेकोमा अहिले मेसिनबाट झोला उत्पादन गर्ने गरिएको छ । उद्योगले भारतबाट कच्चा पदार्थ ल्याउनु पर्ने भएकोले पनि उद्योगले क्षमता अनुसार झोला उत्पादन गर्न सकेको छैन ।
कागजको झोला उत्पादन गर्ने शान्ति पेपर व्याग उद्योग यस क्षेत्रको पहिलो उद्योग हो । उद्योगमा अहिले सात जनाले रोजगारी समेत पाएका छन् ।
कागजको झोला वातावरणीय हिसावले पनि राम्रो भएकाले यस्ता उद्योगलाई सबैबाट प्रोत्सान गरिनुपर्ने घोराही उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख प्रेम केसीको भनाइ छ ।
‘कागजको झोला वातावरणमैत्री छ, यसको प्रयोगले यहाँको वातावरणलाई स्वच्छ राख्न कागजको झोला उपयुक्त छ भन्ने कुरा उपभोक्तामा सचेतना जगाउन जरुरी छ’, उनले भने ,