वडाको विकास : योजना सानो, उपलब्धी धेरै

तुलसीपुर, कार्तिक २३ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १५ को चौवा खोलामा वर्षेनी पहिरोले वालीसँगै मलिलो माटो भएको जग्गा वगाएर लैजान्थ्यो । दुखजिलो गरेर लगाएको खेत वाढीले वगाउदा किसानहरु आजित भएका थिए । वडा सरकार आएपछि उनीहरुले समस्याका वारेमा जानकारी गराए । वडाध्यक्ष लक्ष्मण चौधरीले तत्काल वडाको विपद व्यवस्थापन शीर्षकबाट कल्भर्ट निर्माण गर्नुभयो ।
अहिले उनीहरुले सुखको सास फेरेका छन् । “अब वल्ल ढुक्क भइएको छ ।” स्थानीय प्रेमवहादुर वस्नेतले जानकारी गराउनुभयो । भएको थोरै जग्गा पनि खोलाले खाला भन्ने त्रास हराएको छ । वडा कार्यालयले २ लाखको वजेटमा निर्माण गरेको कल्भर्टले करिव ६० विगाहा जग्गालाई जोखिमबाट जोगाएको छ । “जनताको आवश्यकता पुरा गर्नका लागि सानो सानो वजेट पनि उपलब्धिपूर्ण हुन सक्छ” अध्यक्ष चौधरीले बताउनुभयो ।
त्यस्तै सोही वडामा रहेका २ वटा प्रावि र २ वटा आधारभुत विद्यालयमा वालवालिकाहरुलाई वडाले विद्यालय पोशाक कपडा वाँड्यो । गरिव र निम्नवर्गका विद्यार्थीहरुले अध्ययन गर्ने विद्यालयमा उनीहरुको आकर्षण वढाउनका लागि वडाले यस्तो कार्यक्रम अगाडि वढाएको थियो । “पोशाक दिन थालेपछि विद्यालय नआउने वालवालिकाहरु पनि विद्यालयमा नियमित आउन थालेका छन् ” अध्यक्ष चौधरीले दावि गर्नुभयो । उहाँले गरिव वालवालिकाहरुसँग विद्यालय पोशाक नहुँदा विद्यालय नआउने समस्याको अन्त भएको पनि वताउनुभयो । वडाको लक्षित कार्यक्रम अन्तर्गत ५ लाखमा वडाभरि रहेका करिव ५ सय विद्यार्थीहरुलाई यस्तो पोशाक वितरण गरिएको थियो । “वडाले वालवालिकालाई पोशाक दिएपछि पढ्नमा मन लगाउनुका साथै नियमित विद्यालय जाने गरेका छन्” अभिभावक वृद्धिराम चौधरीले जानकारी दिनुभयो ।
संघीयताका कारण वडा वडामा वजेट जान थालेपछि अहिले थोरै वजेटमा पनि जनताहरुले फरक अनुभुति गर्न थालेका छन् । तुलसीपुरकै वडा नम्वर १४ ले किसानहरुलाई लक्षित गरेर लिफ्ट सिँचाइ योजना अगाडि वढायो । आकाशे पानीको भरमा खेति हुने ड्वाङ्गपुर गाउँ १२ महिना हराभरा हुन थाल्यो । “१० लाखको लागतमा किसानलाई डिपवोरिङ्ग वितरणको कार्यक्रमले उनीहरुको जीवनस्तरमा ठूलो परिवर्तन आएको छ । ” वडाध्यक्ष पर्शुनारायण चौधरीले जानकारी दिनुभयो ।
तुलसीपुरकै वडा नम्वर ३ को गहतेका वासिन्दाहरु खोला किनारको पानी खान वाँध्य थिए । पानीकै कारण उनीहरु विभिन्न रोगको सिकार समेत हुने गरेका थिए । वडाले २ लाखको लागतमा पानी जम्मा हुने ट्यांकी वनाएपछि अहिले त्यहाँ रहेका २० घरधुरीले सफा र नियमित रुपमा पानी खान थालेका छन् । “पानीको समस्या सजिलै अन्त्य भयो ” स्थानीय श्याम विकले जानकारी दिनुभयो । वडा नम्वर १० गौरी गाउँमा सिँचाई कुलोको अभाव थियो । वडाध्यक्ष कुमार लामिछानेले वडाको वजेटबाट १० लाख विनियोजन गरेपछी अहिले त्यहाँको कुलोमा वाह्रै महिना पानी वगिरहेको हुन्छ । “सिँचाई भएपनि किसानहरु उत्पादनतर्फ निकै आकर्षित भएका छन् ।” उहाँले भन्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *