ओमप्रकाश गुप्ता
भालुवाङ,७ कार्तिक । पत्रकार महेश रिजाल यतिबेला सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौमा उपचाररत छन् । मंसिर ३० गते अप्रेसन गर्ने ठेगान भएकोमा उनको स्वास्थ्यमा अकस्मात समस्या देखिएकोले ५ दिनको लागि भर्ना गरिएको थियो । भर्ना भएको चौथो दिन सम्म आउँदा उनको स्वास्थ्यमा केही सुधार देखिएपनि मुटुको धड्कनमा उल्लेख्य सुधार नआएको भन्दै थप एक हप्ताको लागि अस्पतालमा राखिने भएको उपचारमा संलग्न डा. ले बताएका छन् ।
उनलाई नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी,मसालकै काठमाडौ उपत्यका प्रवक्ता जगत रेग्मी,अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकी ,अखिल (छैठौं ) का केन्द्रीयअध्यक्ष विमल पोख्रेल र मजदुर नेता भुवन शर्माले सहयोग गर्दै आएका छन् भने दाङका किसान नेता मदन पाण्डे २४ सै घण्टा उनी संगै रहने बताइएको छ ।
यसैबीच राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी र कार्यकारी अध्यक्ष रश्मीराज नेपाली अस्पतालमै पुगेर उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको रिजालका सहयोगी मदन पाण्डेले जानकारी दिएका छन् । रिजालको मुटुको ३ वटा रक्त सञ्चारनली बन्द छ । मुटुको अप्रेसन र उपचारमा करिव ५ लाखखर्च लाग्ने उनको उपचारमा संलग्न डा. ले बताएका छन् ।
आर्थिक अवस्था निकै कमजोर रहेकाले उपचार गराउन त्यति ठुलो रकम आफु सँग नभएकाले आफुलाई बचाउन उनले सरकारी,गैरसरकारी कार्यालय,पार्टीपङती,पत्रकार ,शुभचिन्तक सवैमा आग्रह पनि गरेका छन् ।