यमकला भुसाल
दाङ, ३ मंसिर । यतिखेर यही अरनिको मैदानमा चौथो हिरा डाँगी स्मृति कप फूटबल प्रतियोगिता जारी छ । मंसिर १ गतेबाट सुरु भएको प्रतियोगिता ८ गतेसम्म सञ्चालन हुने छ । हालसालै अघिल्लो महिना मात्रै लुम्बिनी प्रदेश तेक्वान्दो संघले प्रदेश भरिका झन्डै आठ सय खेलाडी अरनिको मैदानमा भेला गरायो । संघका प्रदेश अध्यक्ष बिमल रिजाल नेतृत्वको टिमले दुई दिन प्रदेश स्तरिय प्रतियोगिता भब्यताका साथ सम्पन्न गरे ।
कसैसंग पैंशा नमागेर /नउठाएर प्रदेश अध्यक्ष रिजाल नेतृत्वको टिमले आँफैले लाखौं रकम बेहोरेर तुलसीपुरमा अघिल्लो बर्षपनि अरनिको मैदानमै यस्तै उत्साहका साथ प्रदेशस्तरिय प्रतियोगिता गर्न सफल भएको थियो ।
तुलसीपुरको मुटुमा रहेको अरनिको मैदान एक मात्रै बजार भित्रको खेल मैदान हो । यो तुलसीपुरको प्रतिष्ठा र इज्जत संग जोडिएको मैदान हो । तर, दुभाग्र्य यो अरनिको मैदानमा शौचालय छैन अर्थात यो मैदान शौचालय बिहिन छ । यहाँ दिनहुँ जसो विभिन्न खेलकुदका गतिबिधिका साथै बिभिन्न कार्यक्रमहरु पनि भइ रहन्छन ।
तुलसीपुरको मुटुमा रहेको यो खेल मैदानमा खेलकुदका लागि आउने खेलाडी हुन वा अफिसियल्स वा कुनै अन्य कार्यक्रममा यहाँ पाल्ने विशिष्ट अथिति सबै पिसाब वा दिशाले च्याप्दापनि थामेरै बस्न बाध्य हुन्छन् । जो स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिन्छ । हैन भने तत्कालै यहाँ वाट निस्किएर होटेल वा रेष्टुँरामा जानुको बिकल्प हुँदैन । कारण तुलसीपुरको अरनिको मैदान भित्र शौच गर्नका लागि शौचालय नहुनु नै हो ।
मैदानमा दर्शकका लागि बसेर हेर्ने कुनै व्यवस्थित ठाउँ समेत छैन । जति खेल प्रेमी यहाँ पुग्छन् सक्ने हुन वा नसक्ने सबै उभिएरै खेल हेर्न बाध्य हुन्छन् । यस्ले उपमहानगर भित्रको साबिक राप्ती अञ्चल सदरमुकाम तुलसीपुरको उपहास मात्रै भइ रहेको छ । तै पनि यहाँका जनप्रतिनिधिलाई त्यसले छुँदै छोएको छैन । उनीहरु मञ्चमा उभिएर लामा लामा भाषण गर्दै आश्वासनका पोका भने बाँडी रहन्छन् । ती सबै झुटका पुलिन्दा हुन भन्ने कुरा सौचालय बिहिन अरनिको मैदानले गिज्याइ रहेको हुन्छ ।
२०२८ सालमा खेलकुदको बिकासका लागि भनेर अरनिको मैदान बनाइएको थियो । उतिखेर उत्तर कुनोमा मञ्च र ब्यबस्थित सौचालयहरु निर्माण गरिएको थियो । पछि त्यो बेवारिसे जस्तै बन्यो । कसैले त्यहाँको सौचालयको वास्ता गरेन । सरसफाइमा ध्यान दिएन । अनि सौचालय आँफैमा डँगुर जस्तै बने र अन्त्यमा त्यो सौचालयसहितको सुन्दर मञ्च भत्काइएको थियो ।
त्यसपछि मैदानको पूर्वी दक्षिण कुनोमा सौचालय बनाइएपनि त्यो पनि बेवारिसे बन्न पुग्यो । सरसफाइ बिनाको सौचालय कस्तो हुन्छ ? नाकमुख थुनेर पनि जान नसकिने भएपछि सौचालय समयले भत्कायो । र यतिखेर सौचालय बिहिन अरनिको मैदानले सारा तुलसीपुरबासी र जनप्रतिनिधिलाई गिज्याइ रहेको छ । लाग्छ, अरनिको खेल मैदान यतिखेर बेवारिसे हो । यसका संरक्षक र माली कोही छैनन् ।
अरनिको मैदानको स्तरोन्नतिका लागि पटक– पटक धेरैले प्रयासहरु नगरेका होइनन् । ध्यानाकर्षण नगराइएको होइन । तर, यहाँका जनप्रतिनिधिका कान हात्तीका जस्ता छन् । उनीहरुले सुन्दै सुन्दैनन् । अहिले सम्म कसैले कुनै मतलब गरेका छैनन् । नजिकको सरकार भन्ने जिनिस उपमहानगरले अरनिको मैदानमा कुनै चासो देखाएको देखिदैन । त्यसैले यो वेवारिसे बनेको हो ।