दाङ, ३ मंसिर । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
नेपालको संसदीय प्रणालीलाई व्यवस्थित गर्नका लागि ढुंगानाले सभामुखको हैसियतमा गरेको भूमिकाको उच्च कदर गर्दै सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र आज शोक बिदा दिने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।
ढुंगानाको निधनको शोकमा आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ।ढुंगानाको आइतबार दिउँसो उपचारको क्रममा निधन भएको थियो ।
ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । अन्त्येष्टिअघि सानो गौचरणमा बिहान साढे ११ बजे हुने श्रद्धाञ्जली सभामा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन् ।
वरिष्ठ अधिवक्ता ढुंगाना २०४८ सालदेखि २०५१ सालसम्म सभामुख बनेका थिए । उनी सरकार-माओवादी शान्तिवार्ताका सहजकर्तासमेत थिए ।