दाङ, २० कार्तिक । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नंवर १० गौरीगाउँमा रहेको पर्यटकीय स्थल गौरी तालमा मोटरबोट (डुङ्गा) संचालनमा ल्याइएको छ । तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा पर्यटकहरुलाई तालमा मोटरबोट सवार गर्नका लागि संचालनमा ल्याइएको वडा नंवर १० का अध्यक्ष यमराज केसीले जानकारी दिनुभयो । उहाँका अनुसार उपमहानगरकापालिकाको करिव १ लाख पचास हजारको लागतमा सो तालमा सो मोटरबोट संचालनमा ल्याइएको हो ।
यही कात्तिक १४ गते बुुधबारदेखि संचालनमा ल्याइएकोमा मन्दिर व्यवस्थापन समितिले तिहारको समय भएकाले मोटरवोट सवार निशुल्क गरिरहेको वडा अध्यक्ष केसीले बताउनु भयो । विशेष गरी तिहार विदाको समयमा संचालनमा ल्याइएकाले पनि उपमहानगरपालिका, वडा र मन्दिर व्यवस्थापन समितिसँग निशुल्क वा सशुल्क संचालन गर्ने भन्ने विषयमा छलफल हुन बाँकी नै रहेको छ । तिहार विदा सकिएपछि छलफल गरेर मोटरवोट खरिदमा लगानी लागेकाले स्थानिय तथा पर्यटकहरुलाई थोरै शुल्कमा मोटरवोट सवार गर्ने व्यवस्था मिलाउने उहाँको भनाइ छ ।
यस्तै तिहारको समयमा गौरी तालमा निर्माण गरिएको झिलिमिलि वत्तीको व्यवस्थापन वडाले गरेको थियो । झिलिमिलि तिहारमा झिलिमिलि वत्तीका कारण रातीसम्म पनि मन्दिर अवलोकन गर्ने, फोटो खिच्ने, भिडियो बनाउनेहरुको समेत भिडभाड हुने गरेको थियो ।