दाङ, १० कार्तिक । घोराही-लमही सडकखण्डको कुइरेपानी देखि चौपट्टा मन्दिर सम्म सरसफाई गरिएको बयालडाँडा चौतारी क्लवको आयोजना तथा घोराही उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालय दाङको समन्वय एवं सहकार्यमा सरसफाई गरिएको हो । पैदल यात्रु, सवारीका साधनबाट र घाँसपात गर्नेहरुले सडक छेउमा फालेका फोहोरहरु संकलन गरिएको छ ।
घोराही उपमहानगरपालिकाले सचेतना बोर्ड नै राखेर फोहोर नफाल्न भनि सचेत गराएको तर नागरिकहरुले जहाँतही फोहोर फाल्दा सुन्दरता र स्वास्थ्यमा असर पर्ने भन्दै सचेतना मूलक प्ले कार्ड सहित सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, जिल्ला प्रहरी कार्यालयका डिएसपी ईश्वर थापा, शसस्त्र प्रहरीका डिएसपी होम न्यौपाने, वडा नम्बर ३ का अध्यक्ष रामप्रसाद चौधरी, बयालडाँडा चौतारी क्लवका अध्यक्ष नारायण भुसाल, उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ सहित क्लवका सदस्यहरु, प्रहरी, स्थानीय र विभिन्न टोल विकास संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले सो क्षेत्रमा फोहोर निषेधीत क्षेत्रका रुपमा तोकिए पनि नागरिकहरुको अटेरी र लापर्वाहीले फोहोर हुदै आएको बताउनुभयो । घोराही बजारको प्रबेश द्धार भएको भन्दै उहाँले कोही कसैले फोहोर फालेको देखे र पाईएमा नगरलाई जानकारी गराउन समेत अपिल गर्नुभयो । सरसफाई व्यक्ति र समाजको ऐना भएको उहाँको भनाई छ । व्यक्ति स्वस्थ्य भए मात्रै सामाजिकरुपमा रहेक कामहरु गुणस्तरीय हुने भन्र्दै उहाँले त्यसका लागि फोहोरको उचित व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो ।