दाङ, ८ कार्तिक । देउखुरी भालुबाङस्थित प्रहरी बेस क्याम्प नजिकै आठ वर्षीया बालिका बलात्कार भएको दुई हप्ता भइसक्दासमेत दोषी नसमातिएकोप्रति गम्भीर चिन्ता र चासो राख्दै नागरिक समाज दाङले यथाशीघ्र दोषीलाई कानुनी कठघरामा ल्याउन माग गरेको छ । समाजले पीडितका लागि न्याय तथा दोषीउपर सजायको माग गर्दै नागरिकस्तरबाट भइरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउने निर्णय गरेको छ ।
नागरिक समाज दाङको बुधबार घोराहीमा बसेको नियमित बैठकले यस्तो निर्णय गरेको हो । समाजका संयोजक नीमबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी आयोगमा राजनीतिक भागबण्डाका आधारमा नभई स्वच्छ छवि भएका विषयविज्ञहरुलाई सिफारिस गर्न सिफारिस समिति, सरकार तथा राजनीतिक पार्टीहरुलाई आग्रह गरेको छ । त्यस्तै बैठकले बाढी पहिरो प्रभावितको राहत तथा पुनर्वासको कामलाई प्रभावकारी बनाउन, दैनिक उपभोग्य बस्तुमा भएको मूल्यबृद्धि नियन्त्रण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ ।
बैठकले सहकारीसम्बन्धी समस्या पेचिलो बन्दै गएको, पक्ष र विपक्षमा आन्दोलन चर्किदै गएको र यही समस्यामा टेकेर अराजकता बढ्दै गएकोप्रति चिन्ता प्रकट गर्दै सहकारी समस्याको मूल मुद्दा ओझलमा पर्न नदिन, सबै खालका अराजकता रोक्न, सहकारीसम्बन्धी छानबिनका लागि गठन गरिएको संसदीय समितिले गरेको सिफारिस कार्यान्वयनमा लैजान, राजनीतिक प्रतिशोधका आधारमा कसैमाथि डण्डा चलाउने र कसैलाई उन्मूक्ति दिनेखालको व्यवहार प्रदर्शन नगर्न सरकार र सम्बद्ध सबैपक्षलाई आग्रह गरेको छ । बैठकले सरकारले रुग्ण उद्योग सञ्चालनको प्रयास नगरी निजीकरणमा नलैजान र युद्धग्रस्त क्षेत्रमा गएका शान्ति सेनाको सुरक्षार्थ कूटनीतिक पहल गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।