सन्तोष खनाल
दाङ, ८ कार्तिक । घोराही–हर्नोक–कमिरेचौर–प्युठान सडकको १८ किलोमिटर सडक कालोपत्रे गर्न ३४ करोड १६ लाखमा ठेक्का लागेको २०७५ असार ३१ गते हो । २०७८ असार ३२ गते सडक बनिसक्नुपर्नेमा सडक डिभिजन दाङको रेकर्डमा ७५ प्रतिशत काम पूरा भएको उल्लेख छ । कागजमा ७५ प्रतिशत भौतिक प्रगति भएको उक्त सडक कमिरेचौर र मुर्कुटी छुट्टिएर खानी जानेबाटोसम्म पिचको नामनिसान मात्रै कतै कतै भेटिएला तर पीच सडक भेटिदैन । सिमेन्ट उद्योगको कच्चा पदार्थ बोक्न टिप्पर नहिड्ने त्यस अगाडिको सडक भने बिग्रेको छैन ।
घोराही–कमिरेचौरमात्रै होइन राप्ती राजमार्गको कपुरकोटबाट खानीतर्फ जाने बाटोको हालत पनि उस्तै छ । जहाँ टिप्पर नियमित हिंड्छन् त्यहाँ सधै सडक बिग्रन्छ । यस्तै सहिद मार्ग अन्तर्गतको घोराही होलेरी सडक पनि ओभरलोड बोकेका टिप्परकै कारण विजोग अवस्थामा छ । घोराही–तापा, सहिद मार्ग त प्रतिनिधिमुलक सडक मात्रै हुन् । जिल्लामा अर्बौं लगानी लगाएर बनाइएका सडक अधिक भार बोकेका मालवाहक साधनका कारण बिग्रिरहेका छन् ।
सडकमा निर्वाध ओभरलोडका गाडी गुडिरहेको सडक डिभिजन दाङका सूचना अधिकारी अमिर सुवेदी बताउनुहुन्छ । सडकमा क्षमताभन्दा दोब्बर भारका गाडी चल्ने गरेको उहाँको भनाइ छ । ‘१० चक्केले २५ टनसम्म बोक्नुपर्नेमा ४८ टनसम्म सामान बोकेको भेटिएको छ । छ चक्केले १६.२ टनसम्म बोक्नुपर्ने हो तर २५–३० टनसम्म बोकिरहेका छन्’– उहाँले भन्नुभयो– ‘क्षमताभन्दा बढी भारका गाडी चलेकै कारण सडक ध्वस्त भएका छन् ।’ जिल्लामा सिमेन्ट उद्योगका गाडीले अत्यधिक भार बोक्ने गरेको उहाँले बताउनुभयो । भारतबाट सिमेन्टका सामान लिएर आउजाउ गर्ने र चुनढुंगा बोक्ने मालवाहक साधनले अधिक भार बोक्ने गरेको उहाँको भनाइ छ ।
घोराही–कमिरेचौर र घोराही–होलेरी सडक छिट्टै बिग्रिनुको कारण सिमेन्ट उद्योगमा चुनढुंगा बोक्ने गाडी नै भएको उहाँको दावी छ । दाङमा घोराही, सोनापुर र सम्राट सिमेन्ट उद्योग सञ्चालनमा छन् । ती उद्योगले बंगलाचुलीको तापा र रोल्पाको होलेरी क्षेत्रबाट चुनढुंगा उत्खनन् गरिरहेका छन् । राप्ती अञ्चल ट्रक समितिका वरिष्ठ उपाध्यक्ष प्रेमनाथ योगीले भारतीय ट्रकमा ओभरलोड हुने र त्यसको नियमन नहुने गरेको बताउनुभयो । ‘धर्मकाँटामा तौल लिन पनि अनिवार्य नगर्न भनियो अहिले हामीले समितिका ट्रकको मात्रै तौल लिने गरेका छौं । भारतीय ट्रकमा ओभरलोड हुन्छ । निर्वाध चल्छन्’– उहाँले भन्नुभयो– ‘७५ प्रतिशत भारतीय ट्रक हाम्रो सडकमा गुड्छन ।’
नियमन भएन
ओभरलोडका कारण सडक बिग्रने र ओभरलोड नियन्त्रण गर्न नियमन निकायको बैठक बसेर निर्णय पनि गरिरहने क्रम निरन्तर चलिरहेको छ । कागजमा भएको नियमनले सडकमा र ओभरलोड नियन्त्रणमा प्रभाव भने परेको छैन । २०७८ असार २९ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा बसेको बैठकले उद्योगका लागि आवश्यक कच्चा पदार्थ ढुवानी गर्ने साधनको हकमा रुट परमिट भएका टिप्पर मात्र ओभरलोड र स्पीड कन्ट्रोल गरेर मात्रै सञ्चालन गर्ने निर्णय गरेको थियो ।
त्यति मात्रै होइन दैनिक रुपमा सञ्चालन गर्ने टिप्परको संख्या एवं विस्तृत विवरण उद्योग व्यवसायीले जिल्ला प्रहरी कार्यालयलाई उपलब्ध गराउने निर्णय पनि भएको थियो । त्यतिबेलै ओभरलोड नियन्त्रणका लागि मापदण्ड विपरीत भएका टिप्परका ढाला काट्ने तथा घोराही र बंगलाचुलीले धर्मकाँटा सञ्चालनमा ल्याउने निर्णय भएको थियो । त्यतिबेलै टाइमकार्ड समेत लागु गरिएको थियो तर यी सबै निर्णय कागजमै सीमित भएका छन् ।
सडक डिभिजन कार्यालय दाङले निर्णय कार्यान्वयन नभएको भन्दै प्रशासनलाई पत्र काटेर ध्यानाकर्षण नै गराएको छ । सडकले २०८० चैत २३ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीको अध्यक्षतामा बैठक बसेर गरेका निर्णय पनि कार्यान्वयन नभएको भन्दै ध्यानाकर्षण गराइएको छ । त्यसबेला पनि ट्रक÷टिप्पर व्यवसायीकै उपस्थितिमा ओभरलोड नबोक्ने तथा बोकेको पाइए प्रचलित कानुनबमोजिम कारवाही गर्ने निर्णय भएको थियो । अहिले पनि दैनिक सयौं टिप्पर उद्योगको कच्चा पदार्थ बोकेर हिंडिरहेका हुन्छन् ।
पछिल्लो पटक पनि ओभरलोड नियन्त्रणमा नियमन भन्दा पनि बिग्रेको सडकमा खाल्डा पुर्न सिमेन्ट उद्योग र सडक डिभिजनलाई भागबण्डा लगाइयो । २०८१ असोज २१ गते प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको अध्यक्षतामा बसेको बैठकले बिग्रेको सडक सिमेन्ट उद्योग र सडक डिभिजनलाई मर्मत गर्न भनेको थियो । ओभरलोड कायमै रहे पनि अहिले घोराही मुर्कुटी सडकमा खाल्डा पुर्ने काम भइरहेको छ ।
सडकमा गाडीको भार क्षमता हेर्ने जिम्मेवारी यातायात व्यवस्था कार्यालयको हो । तर यातायात व्यवस्था कार्यालयले पनि यस विषयमा ध्यान दिएको छैन । सडक डिभिजनले प्रायः टिप्परमा ओभर लोड हुने बताउँछ तर ट्राफिक प्रहरीको रेकर्डले भने न्यून संख्यामा मात्रै ओभर लोड बोकेका टिप्पर कारवाहीमा परेको देखाएको छ । चालु आर्थिक वर्षको मंगलबारसम्म जिल्लाभर जम्मा २२ वटा टिप्पर ओभरलोडका कारण कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । नेपाल सरकारले ट्रकको क्षमता अनुसार ढुवानी गर्न तौल तोकिएको छ ।
१४ चक्के ट्रकले २५ टन, १२ चक्के ट्रकले २१ टन, १० चक्के ट्रकले १७ टन र छ चक्के ट्रकले १० टन बोक्न पाउने अनुमति छ । तर यो अनुमति नाघेर नेपाली तथा भारतीय ट्रकले ओभरलोड बोक्ने गरेको सरकारी निकायनै बताउँछन् ।