चेतन वली
दाङ, १३ भदौ । दाङको तुलसीपुरमा अटोका लागी बसपार्क भित्र पार्कीङ स्थल तोकिएपनि कार्यान्वयन हुन सकेको छैन । अटो चालकले पार्किङ स्थलमा पार्किङ नगरेर सडक किनारमै अटो पार्किङ गर्दा बसपार्क भित्र पार्किङ गर्ने निर्णय प्रभावकारी कार्यान्वयन हुन नसकेको हो । तुलसीपुर उप–महानगरपालिकाले अटोको पार्किङ व्यवस्थापनलाई कडाइका साथ पालना गराउने बताएपनि अधिकांस अटोहरु सडकमा जथाभावी पार्किङ गरिरहेको पाइएको छ ।
सोझासाझा अटो व्यवसायीलाई जवरजस्ती बसपार्क भित्र पार्कीङ गर्न बाध्य बनाएको र पुहँचका आधारमा कतिपय अटोहरु बाहिरै पार्कीङ गर्दै आएको अटो व्यवसायीको गुनासो छ । अटो व्यवस्थापनको नाममा ठेकेदार मोटाउने खेल भएको अटो चालक कुमार नेपाली (रमेश) ले बताउनुभयो । बसपार्क भित्र पार्कीङ गर्न बाध्य बनाएर अटो व्यवसायीलाई लुट्ने खेल भएको उहाँले बताउनुभयो ।
बाहिर पार्कीङ गर्ने अटोले यात्रु लगिदिने हुदा नगरपालिकाले तोकेको पार्कीङ स्थलमा यात्रु नै नभेटिने भएकाले दिनभरी बसेर त्यसै फर्किने अवस्था रहेको अर्का अटो चालक प्रकाश नेपालीले बताउनुभयो । सबैलाई एकनासको व्यवहार नहुदा समस्या भएको उहाँले बताउनुभयो ।
बसपार्क भित्रको पार्कीङ स्थल खाली
अटो व्यवस्थापन नै गर्ने भए सबैलाई एउटै नियम लागु गर्नुपर्ने, सबैलाई बसपार्क भित्र पार्कीङ गर्न लगाउनुपर्ने अटो व्यवसायीको माग छ । कतिपय अटो चालकहरुले अहिलेसम्म एकपटक पनि बसपार्क भित्र पार्कीङ नगरेको र पार्कीङ सुल्क पनि नतिरेको भन्दै अहम्ता देखाउने गरेका छन् । त्यसैले गर्दा पनि अन्य अटो चालकहरुले सबैलाई एउटै नियम कटाइका साथ लागु गर्न माग गरेका छन् । अटो व्यवसायीले बसपार्क भित्र पार्कीङ गरेवाफत एउटा अटो बराबर १५ रुपैयाँ सुल्क तिर्दै आएका छन् ।
सडक किनारमा रहेका अटो
यता बसपार्कको जिम्मा लिएका ठेकेदार भिम बुढाथोकी (रामु) ले अटो व्यवस्थापनलाई नगरपालिका र ट्राफिक प्रहरीले चासो नदिएको बताउनुभएको छ । ट्राफिकले पनि मन परेकालाई केही नगर्ने र सोझासाझालाई कारवाही गर्ने हुदा सबैलाई एउटै नियम लागु गराउन कठिन भएको उहाँले बताउनुभयो । नियमनकारी निकायले यसमा ध्यान दिनुपर्ने उहाँको भनाई छ ।