नारायणप्रसाद श्रेष्ठ
२०८१ सालमा आउँदै गरेको रक्षाबन्धन (जनै पूर्णिमा), क्वाटी पूर्णिमाको अवसरमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना । रक्षाबन्धनदेखि सुरु हुने नेवारी संस्कृतिभित्रको साःपारु जात्रा कतै पूर्णिमादेखि कहीँ त्यसको भोलिपल्ट प्रर्दशन गर्ने प्रचलन रहेको छ । यसै सन्दर्भमा आज हामी नेवार समुदाय र साःपारु गाइजात्राबिच के कस्तो सम्बन्ध छ र यसले समाज र राष्ट्रमा के कस्तो सकारात्मक चिन्तन ल्याउन सक्छ । यसबारे सामान्य जानकारी गराउने जमर्को गर्दैछौँ ।
सृष्टिको इतिहाससँगै अघि बढेको इतिहासको पाना पल्टाउने हो भने प्रकृतिको धरोहरलाई उर्वरा बनाइ बाच र बाच्न देउको सिद्धान्त बोकी सभ्यताको आदिकालदेखि मानिसहरु झुण्डमा बस्दै आएको पाइन्छ । आफू र आफ्नो परिवारको सुरक्षा खोज्दै समुदायले जल, जमिन, जंगल, खोला, किनारा र उर्वराभूमि तथा चरिचरणलाई नजर अन्दाज गरेर बासस्थान गराई जिविकोपार्जन गर्दै आएको इतिहास पाइन्छ । यसरी बसोबास गर्ने क्रममा हिमबत खण्डमा बसोबास गर्ने विभिन्न समुदायमध्ये नेवार समुदायले पनि आफ्नो बासस्थान बनाएको पाइन्छ ।
आदिकालदेखि यही समुदाय (विभिन्न नश्ल वंशबाट बनेको) नेपाल खाल्डोमा पशुपालनको लागि बसोबास गरेको पाइन्छ । यसरी नेपाल खाल्डो काठमाडौं उपत्यकालाई मूल बासस्थान बनाएको नेवार समुदाय पछि राजनीतिक, आर्थिक र सामाजिक परिवेश अनुकुल नेपालको विभिन्न गढिगौडामा बसोबास गर्दै आएको पाइन्छ । इशाभन्दा छ सय वर्ष अघिदेखि आफ्नै भाषा रहनसहनमा बस्दै आएको नेवार समुदायले छुट्टै इतिहास बोकी संस्कृति र संस्कारलाई निरन्तरता दिँदै आएको पाइन्छ ।
नेपालको नामाकरणदेखि संयुक्त राष्ट्र संघमा नेवारी भाषा रञ्जना लिपीको माध्यम नेपालको पहिचान गराउनेसम्मको इतिहास बोकेको यो समुदाय संस्कृति र संस्कारको धनी मानिन्छ । इतिहासकार बाबुराम आचार्य, डिल्लीरमन रेग्मी, चित्रधर हृदय, डा. हर्क गुरुङ, सिद्धिचरण श्रेष्ठ, डा. सत्यमोहन जोशीलगायतले खुलेर नेवार समुदायको बारेमा उल्लेख गरेको कुरा र यस समुदायमा भएको कला कौशल, हस्तकला, प्रश्त्तर कला, सामाजिक सांस्कृतिक संस्कार तथा आपसी सम्बन्ध कायम गरी एकताबद्ध भएर रहने यिनीहरुको संस्कार र संस्कृतिलाई अध्ययन गर्ने हो भने यस समुदायले विश्व रंगमञ्चमा नेपालको अस्तित्व कायम गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको कुरा प्रष्ट हुन्छ ।
विभिन्न नश्ल र वंशको समिश्रणबाट निर्माण भएर पनि नेवार समुदायले एउटा छुट्टै पहिचान बोकेर आफ्नो संस्कृति र परम्परालाई अविछिन्न गतिशिल बनाएका छन् । इतिहासकार भन्छन्– बास्तुकलादेखि विविध संस्कृतिभित्र रमाएर पनि समाजमा स्थापित परम्परा र संस्कृतिलाई जसरी हिजोदेखि वर्तमानसम्म जीवन्त राख्न यो समुदाय सफल भएको छ । यसलाई सरसर्ती हेर्ने हो भने नेवार समुदाय साच्चिकै नेपाल राष्ट्रको सपुत धर्ती पुत्रको रुपमा गणना गर्न योग्य मानिन्छन् ।
आदिकालदेखि वर्तमान समयसम्मलाई हेर्ने हो भने यो समुदायभित्र विभिन्न सामाजिक सांस्कृतिक र विविध विचार भएर पनि यिनीहरुबिचको आपसी सम्बन्ध, एकताबद्ध भएर रहने यिनीहरुको संस्कृति नेपालको इतिहासमा नमुना भएर देखा परेको पाइन्छ । यसरी इतिहासकारहरुले नेवारी संस्कृति र संस्कारबारे आफ्नो विचारहरु राखेको पाइन्छ । यस्तै नेपाल सम्वत ५३५ को पाठन आलुक्येधाराको ताम्रपत्र, ५७३ को मध्यपुर दरबारमा रहेको अभिलेख, नेपालको प्रमाणित इतिहास भनेर चिनिने लिच्विीकालीन ढुंगामा कुदिएको अभिलेख, नेवाङ्ग वंशका विराट राजाले जारी गरिएको सूचना, आदि यसका आधार मानिन्छ भनेका छन् ।
नश्ल र संस्कृतिभित्र भिन्नता भएर पनि प्रत्येक धर्म, संस्कृति र समुदायमा सहज पहुँच पु¥याउने नेवार समुदायभित्रको शिष्टता, व्यवहारिकता साच्चिकै उदाहरण योग्य मानिन्छ । भक्तपुरको विस्केट जात्रा, काठमाडौंको इन्द्रजात्रा, ललितपुरको मच्छिन्द्रनाथ रथ (भोटो देखाउने) जात्रा जीवित कुमारी पूजालगायत विविध संस्कृति र पर्व नेवार समुदायको आफ्नै मौलिक संस्कृतिभित्र परिमार्जित हुँदै आएको छ । यसरी विविध संस्कृतिभित्र एकता बोकेर पौराणिक समयदेखि अहिलेसम्म आएका संस्कृतिमध्ये क्वाटी पूर्णिमा, रक्षाबन्धन (जनै पूर्णिमा) देखि मनाइने गाइजात्रा साःपारु पनि एक हो ।
गाइजात्रा– शोकलाई शक्तिमा बदल्न र जन्ममरणको यो श्रृंखला सत्य हो भन्ने बुझाउन गाइजात्रा साःपारु मनाएको पाइन्छ । राजा प्रताप मल्लले शोकमा रहेकी आफ्नो श्रीमतीको सान्त्वनाका लागि प्रचलनमा ल्याएको यो संस्कृति गाइजात्रा वर्तमानमा आएर विज्ञानले समेत स्वीकारेको छ । मृत्यु सत्य हो भनी यस पर्वले देखाउन खोजेको सकारात्मक भाव अहिले आएर सबैजनको विश्वास भएर अगाडि आएको छ । जन्म पछि मृत्यु अवश्य हुन्छ, मृत्यु सत्य हो भन्ने बोध गराउँदै शोकमा परेका परिवारप्रति यस पर्वले समभाव दर्शाउन खोजेको छ ।
विशेष त नेवार समुदायले क्वाटी पूर्णिमा रक्षाबन्धनको दिनदेखि (काठमाडौं उपत्यकामा र केही स्थानमा परेवाको तिथिको दिन) सुरु गर्ने यो गाइजात्रा नेवार समुदायको आफ्नै पहिचान बोकेर विशिष्ट मौलिक संस्कृतिभित्र प्रर्दशन गरिँदै आएको छ । नेवारको घरमा वर्षदिन भरी मरेका पुण्य आत्माको शान्तिको लागि त्यो घरबाट गाइजात्रा निकाल्ने प्रचलन रहेको छ । जुन घरमा त्यो वर्ष जुन व्यक्तिको मृत्यु हुन्छ त्यही पुण्य आत्माको नाममा विभिन्न रंगिन कपडाले डोको श्रृंगारी फोटो राखी बैरागी नचाउँदै घरघरमा घुमाउने प्रचलन रहेको पाइन्छ ।
गाइजात्रालाई कहीँ कतै डोके जात्रा भन्ने गरेको सुनिन्छ । जात्रा घर–घरमा घुम्नुको मतलब यो सबैलाई पर्ने दुःखको अवस्था हो, पुण्य आत्मालाई शान्ति कायम गर्न हामी सबै एक हौ भनी सन्देश दिन खोजेको हो । यस अवस्थामा सोकधुन सहित विभिन्न बाजागाजा सहित पुण्य आत्माको शान्तिको कामना गर्दै प्रत्येक घर–घरमा (नेवार समुदायको) पु¥याउने र त्यहा पुज्ने, सम्झना गर्ने चलन छ । यस पर्वमा कतै रामायण, कतै गिती नाट्य प्रदर्शन गर्ने र गाइको बाच्छालाई श्रृंगारी प्रर्दशन गर्ने चलन पनि छ ।
जहाँ–जहाँ नेवार बस्ती छ, त्यहाँ–त्यहाँ प्रर्दशन गरिने यो जात्राको आफ्नै पहिचान छ । रमाइलो मान्नेलाई रमाइलो जात्रा भए पनि यसभित्र गहिरो सद्भाव लुकेको छ । जन्मेपछि मर्नु पर्ने सत्य भएकोले जन्मपछि केही राम्रा काम गर्नु पर्दो रहेछ, खानु लाउनु मात्र जीवन रहेनछ भन्ने सन्देश दिँदै मानिसले जन्म लिइपछि केही राम्रा र सुधारउन्मुख काम गरी पहिचान बनाउनु पर्छ भन्ने सन्देश यस पर्वले दिएको छ । भौतिक शरीर नष्ट भए पनि नाम पहिचान पछिसम्म जीवन्त रहोस् भन्ने सन्देशमूलक विचारहरु यस पर्वले बढाउन खाजेको पाइन्छ । यतिमात्र होइन गाइजात्रा (साःपारु) पर्वमा पुर्खाको इतिहास र सहिदको सपनालाई साकार गराउने मात्र होइन, आफूले पनि केही इतिहास रच्नुपर्छ भन्ने बोध यस पर्वले दिन खोजेको छ ।
राष्ट्रिय राजनीतिमा राष्ट्रमा भए गरेका विविध किसिमका राम्रा नराम्रा कुराहरुको विभिन्न माध्यम, प्रहशण, नाटक आदिबाट सचेत बनाउने प्रचलन पनि यस पर्वले बोकेको छ । यही पर्वले वाक स्वतन्त्रताको वर्षौदेखि अगुवाई गर्दै आएको देखिन्छ । जसको फलस्वरुप आज मानिस निर्धक्कसँग आलोचना समालोचना गर्न स्वतन्त्रता भएका छन् । त्यतिमात्र होइन अहिले यो पर्व राष्ट्रिय पर्वको रुपमा पनि देखा परको छ । सबै जातजाति, धर्म, वर्गको लागि प्रेरणाको स्रोतको रुपमा पनि यो संस्कृति प्रस्तुत भइरहेको छ । सबैको यसप्रति सद्भाव बढिरहेको पनि देखिन्छ । साःपारु गाइजात्रा अहिले नेवार समुदायको मात्र नभई सबै जात, धर्म र संस्कृतिको पनि हो भन्ने मान्यता रहेको छ ।
तर पनि सरकारले यस पर्वलाई राष्ट्रिय पर्वको रुपमा स्वीकार गर्न सकेको अवस्था छैन । तसर्थ गाइजात्रा पर्व किन र कसका लागि नेवार समुदायले जीवन्त राखेको छ । यसतर्फ सरकार गम्भीर हुन जरुरी छ । सङ्घीय शासन प्रणालीको अभ्यास भइरहेको अवस्थामा अहिले नेताहरु स्वयम् गाइजात्रे भएर आफूलाई प्रर्दशन गरिरहेको पनि देखिन्छ । अहंकार र घमण्डले परिपोषित भई आफू कहिले मर्नु पर्ने छैन भनी दम्भ गरेको अवस्था पनि देखिन्छ । एकअर्कालाई हिलो छ्यापाछ्याप गरिरहेका पनि पाइन्छ ।
नैतिकता खोजी हिड्नु पर्ने अवस्था पनि सिर्जना भएको छ । तसर्थ यसतर्फ सबै चनाखो हुनु पर्ने देखिन्छ । गाइजात्राले बोकेको यथार्थता सबैमा पर्ने विपद हो । तसर्थ यसलाई बुझ्न र आफ्नो आचरण र व्यवहार सच्याउन वर्तमान खोजिरहेको छ । संस्कृति र संस्कार बोकेर प्रचलनमा आएको पितृ उद्धारसँग गाँसिएको यो पर्व सबैको साझा विषय बनाएर अघि बढ्न अहिले सबैको जिम्मेवारीभित्र आएको छ । अन्तमा यस वर्ष नेवार समुदायलगायत सबै जात, धर्म र संस्कृतिभित्रका दिवगंत आत्माहरुप्रति भावपूर्ण श्रद्धा सुमन राख्दै शोकलाई शक्तिमा बदल्न हामी सबै एक बनौँ यही आजको आवश्यकता छ ।