दाङ, ३१ साउन । तुलसीपुर उपमहानगरपालिका र विद्युत प्राधिकरण तुलसीपुरबिच जुहारी चलेको छ । उपमहानगरपालिकाले विद्युत प्राधिकरणलाई सडक बत्ति वाफतको विद्युत महशुल बुझाएको छैन भने विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युतका पोल वाफतको शुल्क बुझाउनुपर्ने उपमहानगरले बताएको छ ।
उपमहानगरपालिकाले अहिले नगरभित्र विद्युत प्राधिकरणले गाडेका विद्युतका पोल गन्ती शुरु गरेको राजश्व शाखा प्रमुख पुष्पलता घर्तीले बताउनुभयो । उहाँले विद्युतका पोल गन्तीका लागि १९ वटै वडालाई पत्राचार गरिसकेको बताउनुभयो ।
अहिलेसम्म चार वटा वडालेमात्रै विद्युतका पोल गन्ती गरेको तथ्यांक पठाइसकेको र बाँकी वडाको आउन बाँकी रहेको उहाँले बताउनुभयो । उहाँले नगरको आर्थिक ऐन अनुसार विद्युत प्राधिकरणसंग प्रति पोल २ सय रुपैँया उपमहानगरपालिकाले लिने लिने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाले २०७४ देखि बितेको आर्थिक वर्षको असार मसान्तसम्मको १ करोड ४२ लाख ६६ हजार ४०४ महशुल बुझाउन बाँकी छ । विद्युत प्राविधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख शिवनारायण गोशलीले पालिकाले विद्युत महशुल बुझाउने आश्वासन मात्रै दिने गरेको बताउनुभयो ।
उहाँका अनुसार विद्युत कार्यालयले निरन्तररुपमा पत्राचार गरेर लाइन काट्नेसम्मको चेतावनी दिएपछि तुलसीपुर उपमहानगरपालिको २०८० असोज १९ गते पालिकाले तिर्नुपर्ने रकम एक करोड २५ लाख ५८ हजार छ सय ८१ रुपैयाँ बाँकी रहेको र बजेट व्यवस्थापन गरेर भुक्तानी दिने भन्दै प्रतिउत्तर पठाएको थियो । तर भुक्तानी गरेन ।
त्यसपछि फेरि विद्युत प्राधिकरणले २०८० मंसिर २६ गते असोज १९ को सम्झौताअनुसार मंसिर मसान्तभित्र भुक्तानी गर्न भन्दै पुनः पत्राचार गरेपछि पालिकाले पाँच लाख मात्रै भुक्तानी गरेको थियो ।
तर बाँकी रकम भुक्तानी नगरको उहाँले बताउनुभयो । उहाँले विद्युत ऐन २०४२ अनुसार स्थानीय कर तिर्नु नपर्ने भन्ने उल्लेख भएकाले पनि प्राधिकरणले उपमहानगरपालिकालाई कर नबुझाउने बताउनुभयो ।
यसैबिच तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले विद्युत प्राधिकरणले पोल राखेको शुल्क भुक्तानी गरेपछि मात्र महशुल भुक्तानी गर्न सकिने बताउनुभयो । उहाँले विद्युत प्राधिकरणले उपमहानगरपालिकालाई प्रतिपोल २ सय रुपैँया बुझाउनुपर्ने बताउनुभयो ।