‘तुलनात्मक रुपमा हल सुरक्षित’

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसकाका कारण ९ महिनासम्म बन्द रहेको सिनेमा हल शुक्रबारबाट सञ्चालनमा आएका छन् । 

नेपाल चलचित्र संघले शुक्रबारबाट सरकारलाई दबाब स्वरुप एकतर्फी रुपमा सिनेमा हल खोलेको हो । जसअन्तर्गत शुक्रबारबा सिंगल र मल्टीप्लेक्समा दुई नेपाली र दुई हलिउड फिल्म प्रदर्शनमा आएका छन् । 

शुक्रबार नेपाल चलचित्र संघको निर्णयमा ऐक्यवद्धता जनाउँदै अभिनेता भुवन केसी, कलाकार तथा निर्माता दीपकराज गिरी,  अभिनेत्री ऋचा शर्मा, निर्देशक प्रदीप भट्टराईलगायतले काठमाडौं सुनधारास्थित सिभिल मलमा फिल्म ‘सेन्टी भाइरस’ अवलोकन गर्दै ९ महिनापछि सिनेमा हल खुलेकोमा खुसी व्यक्त गरेका छन् ।

यसअघि हल सञ्चालकहरुले सरकारलाई सिनेमा हल खोल्न दबाब दिइरहँदा कलाकार दीपकराज गिरी भने यसको विपक्षमा थिए । तत्काल हल खोल्नु भनेको जोखिम निम्त्याउनु रहेको उनको तर्क थियो । तर, धेरै फिल्मकर्मीले हल खोल्नुपर्छ भनेपछि आफ्नो विचार अल्पमतमा परेको उनी बताउँछन् । सडकमा देखिएको भीडभन्दा तुलनात्मक रुपमा सिनेमा हल सुरक्षित रहेको उनी बताउँछन् । 

उनले भने ‘सडकमा हजारौं मानिस छन्, विना मास्क र विना सामाजिक दूरी उनीहरु हिँडिरहेका छन् । राजनीति त्यस्तै गर्मिएको छ । रात्रीकालिन जीवन पनि एकदमै एक्टिभ छ । अहिले डिस्कोहरुमा युवा युवतीहरु प्रेमपूर्वक नाचिरहेका छन्, त्यहाँ पनि सामाजिक दूरी देखिँदैन । हलमा त कमसेकम सेनिटाइजर, स्प्रे, मास्कको व्यवस्था गरिएको छ । यसकारण मैले तुलनात्मक रुपमा सिनेमा हल सुरक्षित पाएको छु ।’