नेपालगन्जमा मूर्ति विसर्जन गर्दा झडप, तीन प्रहरीसहित २० जना घाइते

दाङ, १८ असोज । बाँकेको नेपालगन्जमा दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समूहबिच झडप हुँदा तीन प्रहरीसहित २० जना घाइते भएका छन् । शुक्रवार नेपालगन्जको पिप्रहवा र फुल्टेक्रा खण्डमा दुई समूहबिच झडप भएको र झडपमा तीन जना प्रहरीसहित १५\२० जना घाइते भएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले बताए ।

सबै घाइतेको अवस्था सामान्य रहेको र विवाद पूर्णरुपमा नियन्त्रणमा आइसकेको उनले जानकारी दिए । उनले केही सामाजिक सञ्जालमा झडपमा ज्यान नै गएको भन्ने हल्ला फिँजाइएको भन्दै झडपमा कसैको पनि ज्यान नगएको स्पष्ट पारे ।

मुख्य झडप भएका तीन स्थानलाई प्रहरीले नियन्त्रणमा लिएर निगरानी बढाएको छ । शान्ति कायम राख्दै संयमित रहन जिल्लावासीमा प्रहरीले अनुरोध गरेको छ ।

सो स्थानहरूमा प्रहरीले आवतजावतमा कढाई गरेको छ । स्थितिलाई नियन्त्रणमा लिन झडप भएको स्थानमा नेपाली सेनाले गस्ती गरेको थियो ।