तुलसीपुरका तीनवटा अनलाइन सञ्चालकलाई स्पष्टीकरण सोध्ने

दाङ, १५ असोज । नेपाल पत्रकार महासंघ दाङले तुलसीपुरका ३ वटा अनलाई सञ्चालकलाई स्पष्टीकरण सोध्ने भएको छ । महासंघले पत्रकारिताका नाममा पत्रकार आचारसंहिता विपरित कार्य गरेको भन्दै हाम्रो तुलसीपुर डटकमका कृष्ण अधिकारी, मिक्स खबरका किरण लामीछाने र थर्कोट डटकमका द्रोण केसीसँग लिखित रुपमा स्पष्टीकरण माग्ने निर्णय गरेको हो । लिखित स्पष्टीकरणका लागि महासंघले पत्र बुझेको मितिले १५ दिनको समय दिएको छ ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरलाई होटलको संज्ञा दिएर सर्वसाधारणलाई भ्रमित बनाई चरित्र हत्या गर्ने काम गरेको भन्दै छानबिनका लागि पत्रकार महासंघमा प्राधिकरणले निवेदन दिएपछि महासङ्घले यस्तो निर्णय गरेको हो । विज्ञापन नदिएपछि कार्यालय प्रमुख सुरेश महतोको निवासमा असोज ८ गते प्रवेश गरेर सुत्ने कोठाको भिडियो बनाई सामाजिक संजालमा पोष्ट गरेको प्राधिकरणले आरोप लगाएको छ ।

“थर्कोट डटकम डट एनपीका संचालकको स्वर्थ पुरा नभएपछि मिति २०८२/०६/०८ गते दिउसो मिक्स खवर, हाम्रो तुलसीपुर डट कम र थर्कोट डटकमका संचालक क्रमशः किरण लामिछाने, कृष्ण अधिकारी र द्रोण के.सी. यूट्युवरको समुह अनुमति विना अनधिकृत रुपमा नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको कार्यालय प्रमुख निवासमा पसी फोटो / भिडियो बनाई वितरण केन्द्रलाई होटलको संज्ञा दिई भिडियो सामाजिक सञ्जालमा पोष्ट / प्रसारण गरी आम कर्मचारी, ग्राहक तथा सर्वसाधारण जनतालाई भ्रमित तुल्याई कार्यालय प्रमुखको चरित्र हत्या गर्ने, व्यक्तिगत गोपनीयता भङ्ग गर्ने तथा सार्वजनिक निकायलाई बदनाम गर्न खोजिएकोले सत्य तथ्य छानविन गरी नेपालको कानुन बमोजिम कारवाहीको लागि अनुरोध छ ।” प्राधिकरणले पेश गरेको निवेदनमा भनिएको छ ।

महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा सम्पन्न बैठकले पत्रकारका नाममा निजी स्वार्थपूर्तिका लागि व्यवसायिक मर्यादा विपरित समाचार प्रकाशन र प्रसारण नगर्न समेत सचेत गराएको महसंघका सचिव तथा प्रवक्ता जेएन सागरले जानकारी दिनुभयो ।

त्यसैगरी भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा दाङमा संचार माध्यममा भएको क्षेति, त्यसले पारेको प्रभाव, पत्रकारहरुमा परेको मनोवैज्ञानिक असरका विषयमा अभिलेख संकलन गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि घोराहीमा नेपाल पत्रकार महासंघका अध्यक्ष सन्तोष सुवेदी, तुलसीपुरमा महासंघका उपाध्यक्ष ओपेन्द्र बस्नेत र देउखुरी क्षेत्रमा सदस्य टेक बहादुर पुनलाई जिम्मेवारी दिने निर्णय भएको छ ।