दाङमा लोकेन्द्र मगरको सयपत्री खेतीबाट वार्षिक ३५ लाख कारोबार

दाङ, १२ असोज । घोराही उपमहानगरपालिका १४ झिङ्गौरा का लोकेन्द्र रोकामगरले सयपत्रीको व्यावसायिक खेती गरेर वार्षिक ३५ लाख रुपैयाँको कारोबार गर्दै आउनुभएको छ ।

कतारमा सात वर्ष रोजगारी गरेर फर्किनुभएको रोकामगरले विगत १३ वर्षदेखि फूलखेती सुरु गर्नुभएको ह । हाल तीन बिघा जग्गा भाडामा लिएर जलजला पुष्प फार्म मार्फत् सयपत्री सहित विभिन्न फूलको उत्पादन गर्दै आउनुभएको उहाँले फूलखेतीबाट वार्षिक १० देखि १५ लाख रुपैयाँसम्म बचत हुने बताउनुभयो । हाल फूललाई प्रतिकेजी रु‍. ४०० र माला प्रति थान रु. १०० मा बिक्री भइरहेको छ । बिहेको माला रु. १,००० सम्ममा बिक्री गर्ने गरिएको छ । रोकामगरले बिजुलीको फूल र अन्य प्रजातिका बिरुवाको उत्पादन तथा बिक्री पनि गर्दै आउनुभएको छ ।

चितवन, बुटवल लगायतका स्थानमा फूल आपूर्ति गर्दै आउनुभएको रोकामगरले स्थानीय केही नागरिकलाई रोजगार पनि दिनुभएको छ । दशैँ र तिहार नजिकिँदै गर्दा फूलको माग बढ्दै गएको उहाँले बताउनुभयो । प्लास्टिकको माला प्रतिबन्ध भएमा फूलखेती गर्ने किसान थप लाभान्वित हुने उहाँको भनाइ छ।

फूलखेती गर्ने किसानहरूको सङ्ख्या बढेसँगै मूल्य केही घटे पनि उपभोक्ताले सस्तो र ताजा माला पाउन थालेकोमा रोकामगरले खुसी व्यक्त गर्नुभयो ।