प्रथम शक्तिमान बुढा स्मृति फुटबलको उपाधि टरिगाउँ युथ क्लवलाई

भ्यूमान पुन

दाङ, १२असोज । प्रथम शक्तिमान बुढा मगर स्मृति फुटबल प्रतियोगिता–२०८२ को उपाधि टरिगाउँ युथ क्लबले जितेको छ । घोराही उपमहानगरपालिका–१७, उखुवारीस्थित लुम्बिनी फुटबल एकेडेमीको मैदानमा शनिवार भएको फाइनल खेलमा बडहरा युवा क्लब घोराहीलाई २–१ गोल अन्तरले पराजित गर्दै टरिगाउँ युथ क्लबले उपाधि जितेको हो । कडा प्रतिष्पर्धा भएको पहिलो खेलमा बडहरा फुटबल क्लवले अग्रता बनाएपनि दोश्रो हाफमा टरिगाउँले दुई गोल गर्दै उपाधि हात पारेको हो ।

उपाधिसहित टरिगाउँले नगद एक लाख ५० हजार,ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ भने दोश्रो हुने बडहराले नगद ७० हजारसहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । युनाइटेड नयाँ बजार क्लव (युएनबिसी) क्लवको आयोजनामा भएको प्रतियोगितामा विधागत रुपमा उत्कृष्ठ खेल प्रदर्शन गर्ने खेलाडीलाई समेत पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी टरिगाउ युथ क्लबका हरि बुढा, उत्कृष्ट गोल रक्षक टरिगाउँकै प्रतिक शेर्पाइली, उत्कृष्ट डिफेन्डर टरिगाउकै निशानराज लवट,सर्बाधिक गोल कर्ता घोराही फुटबल एकेडेमीका कमल बिक र टरिगाउँका श्याम बयाडी घोषित भए ।

उनीहरुले प्रतियोगितामा समान ६/६ गोल गरेका थिए । यसैगरी प्रतियोगितामा राइजिङ प्लेयरका रूपमा बडहरा फुटबल क्लबका सुगम पुन घोषित भएका थिए । असोजको ४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा जिल्लाका १८ टिमको सहभागीता रहेको थियो ।