दाङ, १२ असाेज । दुई पटक (सन् २०१२ र २०१६)को टी–२० आई विश्वकप विजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले ऐतिहासिक जित दर्ता गरेको छ। क्रिकेट टोलीले नेपाली क्रिकेट इतिहासमा पहिलोपटक फुल टेस्ट टोलीसँग खेलेको हो।
पहिलो खेलमा जित हात पारेसँगै नेपालले ऐतिहासिक तीन खेलको टी–२० आई सिरिजमा १–० ले अग्रता बनाएको हो। नेपालले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २९ रन मात्र बनाउन सक्यो।
नेपालका लागि कुशल भुर्तेलले २ विकेट लिए। नन्दन यादव, ललित राजवंशी, रोहित पौडेल र करण केसीले समान एक विकेट आफ्नो नाममा गरे।
वेस्ट इन्डिजका लागि नभिन विदाइसीले बनाएको २२ रन नै सर्वाधिक रह्यो। उनी कुशल भुर्तेलको बलमा आउट भए। त्यसअघि १५औँ ओभरको पहिलो बलमा कुशल भुर्तेलकै बलमा जासोन होल्डर कप्तान रोहित पौडेलको हातबाट क्याच आउट भए।
कप्तान रोहित पौडेलले आठौँ ओभरको चौथो बलमा जेवेल एन्ड्रयुलाई ५ रनमा सन्दीप जोराको हातबाट क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए।
नन्दन यादवले पाचौँ ओभरको पाचौँ बलमा अकिम अगस्तेलाई १५ रनमा दिपेन्द्र सिहं ऐरिको हातबाट क्याच आउट गराउँदै विकेट लिएका हुन्। दोस्रो ओभरको दोस्रो बलमा ओपनर केली मेयर्स ५ रनमा रन आउट भए।