दाङ, १० असोज । एशियाली वैज्ञानिक क्षेत्रमा नवप्रवर्तन र अनुसन्धानको उज्ज्वल इतिहास बोकेको ’एशियाली वैज्ञानिक १००’ सूचीले यस वर्ष पनि एशिया प्यासिफिक क्षेत्रका १०० उत्कृष्ट अनुसन्धानकर्ता, प्राध्यापक, नवप्रवर्तक अगुवाहरुको नाम सार्वजनिक गरेको छ । सन् २०१६ देखि हरेक वर्ष एशियन साइण्टिस्ट म्यागजिनले प्रकाशिल गर्ने यो सूची यस वर्ष दशौ संस्करणमा प्रवेश गरेको छ। यो सूचीले विभिन्न वैज्ञानिक विधाहरूलाई समेटेको छ। जसमा चिकित्सा, पर्यावरण, सूचना प्रविधि, जैविक प्रविधि र जलवायु विज्ञानमा उल्लेखनीय उपलब्धि हासिल गर्ने व्यक्तिहरूलाई सम्मानित गर्दछ ।
एशियन साइण्टिस्ट म्यागजिनका अनुसार, यो सूचीमा समावेश हुनका लागि उम्मेदवारले अघिल्लो वर्ष राष्ट्रिय वा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको हुनुपर्छ वा उनीहरूले महत्वपूर्ण वैज्ञानिक खोज गरेको वा एकेडेमिया तथा उद्योगमा नेतृत्व प्रदान गरेको प्रमाणित गर्नुपर्छ । यस वर्षको सूचीमा नेपाल लगायत, भारत, दक्षिण कोरिया, जापान, चीन लगायतका देशका वैज्ञानिकहरू समावेश छन् ।
यो सूचिमा नेपालका पाँचजना वैज्ञानिक तथा अनुसन्धानकर्ताहरू परेका छन् । जसमा राप्ती इञ्जिनियरिङ कलेज दाङका अध्यक्ष समेत रहनुभएका डा. शैलेन्द्र विक्रम गिरीको नाम पनि समावेश छ। यस्तै प्रा.डा. तिस्ता प्रसाई जोशी, प्रा.डा. रेचन गुरुङ लामा, फ्रिन्सन प्रधान र राजु आचार्य हुनुहुन्छ । एसियाका उत्कृष्ठ एक सय जनामा नेपालका पाँच जना मात्रै समावेश भएको र पाँच जनामा आफ पनि परेकोमा गिरीले खुसी व्यक्त गर्नुभयो। उहाँले आफूले सूचना प्रविधिको क्षेत्रमा गरेको योगदानलाई आधार बनाएर नाम छनौट भएको बताउनुभयो ।
गिरीले सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा नेपालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। उहाँले नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय उत्कृष्ट सूचना प्रविधि अवार्ड–२०२४ प्राप्त गर्नुभएको थियो । उहाँले नेपालमा सञ्चार र सूचना प्रविधिको विस्तार तथा विकासमा योगदानलाई सम्मान गरेको बताउनुभयो । राप्ती इन्जिनियरिङ कलेज स्थापना गरेर यस क्षेत्रमा सूचना प्रविधि र इन्जिनियरिङ क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएका गिरीले एशियाली वैज्ञानिक १०० मा स्थान पाउनु मेरो लागि व्यक्तिगत सम्मान मात्र होइन, यो नेपालको युवा वैज्ञानिकहरूलाई प्रेरणा दिने अवसर भएको बताउनुभयो ।
उहाँले आईसीटीले शिक्षा र स्वास्थ्यमा क्रान्ति ल्याउन सक्छ, र हामीले यसलाई दिगो बनाउनुपर्ने वताउनुभयो। पछिल्लो समय सूचना प्रविधिले पार्ने प्रभाव र यसको प्रभाव विस्तारका लागि गिरीले अभियान नै सचालन गर्नुभएको छ। नेपालबाट पाँच जना व्यक्ति छनौटमा पर्दा सवैभन्दा धेरै जापानबाट परेका छन् । जापानबाट १४ जना एक सय जनाको सूचिमा अटाएका छन् ।
यसैगरी भारतबाट १२ जना, चीनबाट आठ जना, पाकिस्तानवाट तीन जना, मलेसियाबाट १० जना, श्रीलंकाबाट दुई जना, इण्डोनेसिया, थाइल्याण्ड, ताइवान, बंगलादेश र फिलिपिन्सबाट समान चार जनाका दरले समेटिएका छन्। यस्तै दक्षिण कोरियाबाट आठ जना, हङकङबाट छ जना, सिंगापुरबाट नौ जना, मंगोलियाबाट दुई जना र भियतनामबाट सबैभन्दा कम एकजनाको नाम समावेश गरिएको छ ।
नेपालवाट समेटिएका पाँचजना मध्य डा. प्रसाई जोशीले नेपालमा पिउने पानीको गुणस्तर सुधार्ने क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्नुभएको छ। उहाँ काठमाडौं विश्वविद्यालयमा कार्यरत हुनुहुन्छ । यस्तै प्रा.डा. लामाको संरक्षण प्रयासले हिमाली क्षेत्रका संवेदनशील प्रजातिहरूलाई नयाँ जीवन दिएको छ। लामाको परियोजनाले स्थानीय चरिचरनकर्ताहरूसँग सहकार्य गरी क्यामेरा ट्यांपिङ र सामुदायिक निगरानी प्रणाली विकास गरेको छ, जसले संरक्षणलाई प्रभावकारी बनाएको छ ।
राप्ती पोष्टबाट साभार