दाङ, ९ असोज । विभिन्न आन्दोलनका उलब्धिहरूलाई संग्रहित गरिएको नयाँ संविधान जारी भएपछिको दोस्रो आवधिक निर्वाचनमा ‘लौरो चुनाव चिह्न’ खुबै चर्चित बन्यो । स्थानीय तह निर्वाचनदेखि चुलिएको लौरो प्रदेश र प्रनिनिधिसभा निर्वाचनमा पनि चर्चामै रह्यो । स्थानीय तह निर्वाचनमा चुनाव चिह्न लौरो पाएका बालेन्द्र शाह (बालेन) काठमाडौँजस्तो देशकै ठूलो महागरको प्रमुखमा चुनिए भने हर्कराज राई (हर्क साम्पाङ) धरान उपमहागरको मेयर बने ।
लामो राजनीतिक इतिहास र पृष्ठभूमि बोकेका बलिया संगठन भएका प्रमुख दलहरूलाई नै लौरोले यसरी पाखा लगाएपछि यसको लोकप्रियता बढेको हो । २०७९ मंसिरमा एकसाथ भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पनि लौरोलाई अभियानकै रुपमा अघि बढाइयो । यद्यपि, त्यसबेला भने लौरो कमजोर देखियो । उक्त चुनाव चिह्न लिएर जो–जो चुनावी मैदानमा होमिए, ती सबै पराजित भए ।
तर बागमती प्रदेशतर्फ भने लौरोमा परेको समानुपातिक मत भने खेर गएन । त्यहाँ हाम्रो नेपाली पार्टीका दुई समानुपातिक सांसद छन् । २०७९ वैशाखको स्थानीय तह निर्वाचन र मंसिरको प्रदेश तथा संघ निर्वाचनका बीचमा लौरो दलको चिह्नका रूपमा दर्ता भएको थियो । २०७९ असार २९ गते अनन्तराज घिमिरेको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको हाम्रो नेपाली पार्टी (हानेपा)ले लौरोलाई आफ्नो चुनाव चिह्न बनाएको हो ।
ललितपुरको सानेपा कार्यालय रहेको उक्त पार्टीको चुनाव चिह्नका रूपमा अहिले पनि यो आयोगमा दर्ता छ । जेनजी आन्दोलनसँगै अहिले देश मध्यावधि निर्वाचनमा धकेलिएपछि काठमाडौँ महागनगरका प्रमुख बालेन पार्टी निर्माणको आन्तरिक गृहकार्यमा जुटेका छन् तर उनले नयाँ दल घोषणाभन्दा पनि हानेपालाई नै अघि बढाउने सम्भवाना देखिन्छ । किनकि उनकै समर्थनमा उक्त पार्टी दर्ता भएको थियो ।
तत्कालीन समयमा आयोगमा कार्यरत एक कर्मचारीले खुलाए अनुसार बालेनकै समर्थनमा भनेर हाम्रो नेपाली पार्टी दर्ता गरिएको थियो । ‘तीन वर्ष अघिको चुनावमा निर्वाचन आयोगमा केही युवाहरू एउटा नयाँ पार्टी दर्ता गराउन आउनुभयो । नाम – हाम्रो नेपाली पार्टी र चुनाव चिह्न – लौरो’, उनले त्यसबेलाको संवाद सुनाउँदै भने, ‘यो त बालेनको लौरो होइन ? भन्दा उनीहरूले यसमा बालेनको समर्थन छ भनेका थिए ।’
त्यसो त हानेपाका अध्यक्ष अनन्तराज घिमिरे स्वयं पनि बालेनकै समर्थनमा पार्टी दर्ता गरेको स्वीकार्छन् । लौरोलाई संस्थागत गर्न इन्जिनियर तथा अन्य बुद्धिजीवी मिलेर आयोगमा दर्ता गरिएको उनले बताए । ‘वैशाखमा बालेन काठमाडौँमा र हर्क धरानमा स्वतन्त्र लडेर जित्नुभयो । त्यहीबेला पनि उहाँहरूलाई हामीले सहयोग पनि गर्यौँ,’ उनले भने, ‘जब उहाँहरू जित्नुभयो तब त्यो लौरो एउटा ब्राण्ड बन्यो । बालेनजीको टिमसँग पनि सल्लाह गरेर लौरोलाई रजिस्ट्रर गर्नुपर्छ है भनेर आयोगमा क्लेम गर्यौँ । हामीले संस्थागत गर्नका लागि लौरोलाई पार्टीसँग आबद्ध गरेका हौँ ।’
हानेपाकै एक नेता अब नेतृत्व बालेनले नै गर्ने बताउँछन् । ‘लिडिङ गर्ने को हो त भन्दा अहिले बालेन जी एउटा लिडरसीपका रूपमा उदाइसक्नुभएको छ । उहाँकै लिडरसीपमा देशलाई साँच्चिकै सुन्दर बाटोमा लानुछ,’ ती नेताले भने, ‘आगामी चुनावमा के हो भने बालेनजीले लिडरसीप गर्नुहुन्छ र हामी पछि लाग्छौँ । साथमा रहन्छौँ ।’ हानेपामा इन्जिनियरहरूको जमात बढी छ । काठमाडौँका प्रमुख बालेनको पृष्ठभूमि पनि त्यही हो ।
हानेपाका पदाधिकारी र बालेनबीचको निकटता पनि ‘ओपनसेक्रेट’ नै देखिन्छ । हानेपाका अध्यक्ष रहेका घिमिरेले केही दिनअघि मात्रै बालेन व्यक्ति नभई विचार भएको उल्लेख गरेका छन् । संविधान दिवसमा बालेन मौन रहेको सन्भर्दलाई लिएर सामाजिक संजालमा उनले लेखेका छन्, ‘बालेन नबोल्दा पनि समाचार बन्छ । बालेन व्यक्ति होइन, विचार हो ।’ हानेपाका प्रवक्ता रोहन कार्कीको त फेसबुक ‘कभर फोटो’ नै बालेनसँगको छ ।
बालेनलाई ट्याग गरिएको उक्त फोटोको क्याप्सनमा भनिएको छ, ‘जो एक विचार हो । जो कहिल्यै थाकेन, जो निरन्तर आफ्नो अडानबाट विचलित भएन । जनताको आशा भरोसा तथा हामी सबैका प्रिय नेता ।’ हानेपा प्रवक्ता कार्कीले बालेनको समर्थन गर्दै अन्य विभिन्न पोस्टहरू पनि सामाजिक संजालमा साझा गर्ने गरेका छन् ।
बालेन सचिवालयको घुमाउरो स्वीकारोक्ति
बालेनको सचिवालयले पनि हानेपासँगको सम्बन्धलाई घुमाउरो ढंगले स्वीकारेको छ । उनका स्वकीय सचिव भूपदेप साहले पार्टी निर्माणको विषय र आगामी चुनावबारे आन्तरिक छलफल भइरहेको स्पष्ट पार्दै हानेपासँगको सम्बन्धलाई पनि घुमाउरो ढंगले स्वीकार गरे । हाम्रो नेपाली पार्टीमार्फत नै अघि बढ्ने हो ? भन्ने थाहाखबरको प्रश्नमा साहले घुमाउरो जवाफ दिए । उनले भने, ‘यो देशमा भएका सबै पार्टी हाम्रा लागि बराबर हुन् । हामीले उनीहरूका गुण र दोषका आधारमा जनताले जस्तै मूल्यांकन गर्छौँ ।’
साहले पार्टी निर्माण र आगामी चुनावबारे आन्तरिक छलफल भइरहेको कुरा लुकाएनन् । उनले भने, ‘अहिलेको परिस्थितिमा पार्टी निर्माण र चुनावबारे छलफल हुनु त सामान्य कुरा भइहायल्यो नि । देश नै त्यसैमा छलफल गरिरहेका छ तर यसबारे कुनै निर्णय भइसकेको छैन ।’ गएको आमनिर्वाचनताका लौरो अभियानमा जोडिएका सुमन सायमी भने अहिले अलग भइसकेका छन् । काठमाडौँ महानगरमा बालेनसँगै प्रतिस्पर्धा गरे पनि पछि बालेनको विजय जुलुसमा सायमी सहभागी भएका थिए ।
पछि लौरो चुनाव चिह्न लिएर प्रतिनिधिसभा निर्वाचन लडे पनि उनी पराजित भएका थिए । बालेनसँगको टक्राबकै कारण अहिले सायमी ‘लौरो’बाट अलग भएका देखिन्छन् । सर्वोच्च अदालतले नदी किनारको २० मिटर छाड्नुपर्ने आदेश दिएपछि त्यसलाई कार्यान्वयन गर्न काठमाडौँ महागनर लाग्दा त्यसविरुद्धको आन्दोलनलाई सायमीले नेतृत्व गरेका थिए । त्यही बेलादेखि बालेनसँग दूरी बढ्यो र उनी अहिले राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीमा छन् ।
जेनजी नेतृत्व दावी गर्ने सुदन गुरुङको समर्थन पनि बालेनलाई !
जेनजी आन्दोलनपछि प्रधानमन्त्री कसलाई बनाउने भन्नेमा बालेन र जेनजीहरूको अगुवाका रूपमा देखिएका सुदन गुरुङको रोजाइ मिलेको थियो । सुदनले सुशीला कार्कीलाई प्रस्ताव गरेपछि त्यसमा बालेनले पनि समर्थन जनाएका थिए । अहिले गुरुङ पनि बालेनको समर्थनमा देखिन्छन् तर उनले बालेनसहित अन्य समाजका प्रतिष्ठित व्यक्ति एक ठाउँ आउनुपर्नेमा जोड दिन्छन् । उनी भन्छन्, ‘हाम्रो टार्गेट त सहजीकरण गरेर समाजका सबै राम्रा व्यक्तिहरूलाई एउटै टेबलमा ल्याउने हो । बालेनमात्रै होइन, हर्क, महावीर, सन्दुक लगायतका सबै व्यक्ति एक ठाउँमा रहने हो भने हाम्रो समर्थन रहन्छ । अहिले त्यसैका लागि हामीले कोअर्डिनेट गरिरहेका छौँ ।’