दाङ, ७ असोज । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । सोमबार थप चार मन्त्रीले शपथग्रहण गरेका हुन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् ।
अनिलकुमार सिह्नालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महावीर पुनलाई शिक्षा तथा विज्ञान प्रविधि, डा. मदन परियारलाई कृषि र जगदीश खरेललाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका महावीर पुन म्याग्दीमा जन्मिएका हुन् । उनी राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष हुन् । त्यस्तै, उद्योग तथा भूमिसुधार मन्त्री बनेका अनिलकुमार सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् ।
कृषिमन्त्री बनेका डा.मदन परियार समता फाउन्डेसनका अध्यक्ष हुन् । उनी जलवायु तथा कृषिविज्ञ पनि हुन् । सञ्चार, सूचना तथा प्रविधि मन्त्री बनेका दोलखाका जगदीश खरेल लामो समयदेखि पत्रकारितामा सक्रिय पत्रकार हुन् । यसअघि उनी इमेज टेलिभिजनमा समाचार प्रमुखको रूपमा कार्यरत थिए ।
गत २३ र २४ भदौको जेनजी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि २७ भदौमा पूर्वप्रधानन्यायाधीशसमेत रहेकी सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन् । नयाँ मन्त्रीसँगै प्रधानमन्त्री कार्कीसहित उनको ८ सदस्यीय मन्त्रिमण्डल बनेको छ ।
यसअघि गृह र कानुन मन्त्रालयको जिम्मेवारी अधिवक्ता ओमप्रकाश अर्यालले पाइसकेका छन् । जो काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका कानुनी सल्लाहकार पनि थिए । त्यस्तै, अर्थमन्त्रालयको जिम्मा रामेश्वर खनालले सम्हालिरहेका छन् । उनी पूर्वअर्थसचिव हुन् ।
प्रधानमन्त्री कार्कीले पहिलो चरणको मन्त्रिपरिषद् विस्तारका क्रममा जिम्मेवारी पाउने मध्य कुलमान घिसिङ पनि एक हुन् । नेपाल विद्युत् प्राधिकरणका पूर्वनिर्देशक घिसिङ ऊर्जामन्त्री बनिसकेका छन् । ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने मुख्य लक्ष्यसहित कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको हो ।