दाङ, ७ असोज । दाङको घोराही उपमहानगरपालिका–३, भानपुरमा निर्माणाधीन संजीवनी शिक्षण अस्पतालको औपचारिक शुभारम्भ विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ।अस्पतालको उद्घाटनसँगै पहिलो दिन निशुल्क स्वास्थ्य शिविर र औषधि वितरण कार्यक्रमसमेत आयोजना गरिएको थियो।
शुभारम्भ कार्यक्रममा अस्पतालका सञ्चालक समितिका पदाधिकारी, चिकित्सक, स्थानीय प्रतिनिधि, सामाजिक अगुवाहरू तथा ठूलो संख्यामा स्थानीयवासीको उपस्थिती रहेको थियो। शिक्षण अस्पतालका संचालक समितिका अध्यक्ष खुमा प्रसाद अर्यालले बिधिवत रुपमा पुजा पाठ गरी शुभारम्भ गर्नुभएको हो ।
कार्यक्रममा उपस्थित अतिथिहरुले दाङमा उच्चस्तरीय स्वास्थ्य शिक्षा र उपचार सेवा उपलब्ध गराउनका लागि संजीवनी मेडिकल कलेज तथा शिक्षण अस्पतालको ऐतिहासिक पहल भएको बताए छन । शुभारम्भकै दिन आयोजित निशुल्क स्वास्थ्य शिविरमा जनरल फिजिसियन सेवा, हाड जोर्नी तथा नशा सेवा, मानसिक रोग सेवा, स्त्री तथा प्रसुति सेवा, वालरोग तथा शिसु सेवा, छाला तथा योन रोग सेवा, फार्मेसी सेवा, जनरल सर्जरी, अल्ट्रासाउण्ड सेवा, प्रयोगसाला सेवाग लगायत विभिन्न विभागका विशेषज्ञ चिकित्सकहरूले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए।
सो अवसरमा ९५७ जनाले स्वास्थ्य परीक्षण गराएका थिए भने आवश्यक परामर्श र उपचार पनि प्राप्त गरेका थिए। साथै, बिरामीलाई आवश्यक पर्ने औषधि निशुल्क वितरण गरिएको थियो। संचालक समितिले मेडिकल कलेज तथा शिक्षण अस्पतालले निकट भविष्यमा स्नातक तहका चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्ने र अत्याधुनिक उपकरणसहितको शिक्षण अस्पतालमार्फत दाङ र आसपासका जिल्लाका सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने जनाएको छ।
स्थानीयवासीले मेडिकल कलेज सञ्चालनमा आउनु दाङ क्षेत्रकै लागि ठूलो उपलब्धि भएको भन्दै यसबाट रोजगारी, शिक्षा र स्वास्थ्य सेवामा दीर्घकालीन फाइदा हुने विश्वास व्यक्त गरेका छन्। केही उपकरण जडान बाँकी रहेको र चाडवाडको सिजन समेत शुरु भएकाले अस्पताल औपचारिक रुपमा संचालनमा आउन अझै लगभग एक महिना लाग्ने अस्पताल प्रशासनले जनाएको छ ।