दाङ, ५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले जेनजी आन्दोलनबाट खण्डहर भएका तुलसीपुरका सरकारी कार्यालयको अनुगमन गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले तुलसीपुर उपमहानगरपालिका, उच्च अदालत तुलसीपुर, उच्च सरकारी वकिलको कार्यालय, पार्टी कार्यालय, कोमल रिसोर्ट, मालपोत कार्यालय, लोकसेवा आयोग, आन्तरिक राजश्व कार्यालय, भू–तथा जलाधार कार्यालयको अनुगमन गर्नुभएको हो ।
सुरक्षा दलबल सहित आउनु भएका मुख्यमन्त्री आचार्यले घोराहीमा रहेका विभिन्न सरकारी कार्यालयहरूको पनि अनुगमन गर्नुभएको छ । जेनजी आन्दोलनकारीहरूले भदौ २४ गते गरेको आगजनीका कारण दाङमा दुई दर्जन बढी सरकारी कार्यालयहरू जलेर खरानी भएका छन् भने दर्जनौँमा तोडफोड गरिएको छ । मुख्यमन्त्रीको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको थियो । अनुगमनका क्रममा दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, नेकपा एमालेका उपाध्यक्ष मनोहर बुढाथोकी लगायतको सहभागिता रहेको थियो ।