आगजनी प्रभावित क्षेत्रको मुख्यमन्त्री आचार्यद्वारा अनुगमन

दाङ, ५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लास्थित सरकारी कार्यालय तथा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा भएको क्षतिकाे स्थलगत अनुगमन गरेका छन् ।
शनिबार गृहजिल्ला अर्घाखाँची आएका मुख्यमन्त्री आचार्यले भग्नावशेष बनेका संरचनाहरूको स्थलगत अनुगमन गरेका हुन । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा अर्घाखाँचीमा जिल्ला समन्वय समिति, सन्धिखर्क नगरपालिका, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका कार्यालयमा आगजनी भएको थियो ।
सरकारी कार्यालयहरूको सेवा प्रवाह तत्काल सुचारु गर्ने विषयमा समेत मुख्यमन्त्री आचार्यले चासोका साथ छलफल गर्दै`, अब सेवा प्रवाह कसरी अघि बढाउन सकिन्छ भन्नेमा ध्यान दिनुपर्छ । अस्थायी संरचना होस् या त्रिपाल टाँगेर भए पनि जनताको काम गरिनुपर्छ´ `सबैसँग समन्वय र सहकार्य गरेर सेवा प्रवाहमा जुट्नुपर्छ ।
जेन-जी आन्दोलनका नाममा घुसपैठ भई सरकारी, सामाजिक तथा राजनीतिक संघ-संस्था र व्यक्तिगत संरचनामा क्षति पुर्याउने कार्य भएको र ती घटनाको अनुसन्धान गरी दोषी पहिचान गरेर कानूनी दायरामा ल्याउन सरोकारवाला पक्षले माग गरेका थिए । यस क्रममा मुख्यमन्त्री आचार्यले घटनाको सबै पक्ष र तहबाट सुरक्षा निकायले अनुसन्धान गरिरहेको बताए ।
आन्दोलनका क्रममा मुख्यमन्त्री आचार्यको सन्धिखर्कस्थित घरमा समेत आगजनी गरिएको थियाे । जसबाट घरमा पूर्ण क्षति पुगेकाे छ ।