दाङ, ३ असोज । दशैं–तिहार नजिकिँदै गर्दा घोराहीमा पुस्तक प्रेमीका लागि विशेष प्रदर्शनी सुरु भएको छ। पठन संस्कृतिको विकास गर्ने उद्देश्यसहित मेधावी कन्सर्नले आयोजना गरेको प्रदर्शनीको उद्घाटन वरिष्ठ पत्रकार तथा साहित्यकार नारायणप्रसाद शर्माले बिहीबार गर्नुभएको थियो ।
प्रदर्शनीको उद्घाटन गर्दै शर्माले पुस्तक मात्र होइन, चेतना र तर्कशील सोच फैलाउने माध्यम भएकाले यस्ता प्रदर्शनी समाजलाई दिशानिर्देशन गर्ने किसिमको हुने बताउनुभयो । उहाँले भन्नुभयो, “पुस्तकको नमुना र विविधता देख्दा निकै खुसी लागेको छ । यस्ता कार्यक्रमले सचेत, जिम्मेवार र तर्कसंगत मानव निर्माणमा योगदान पु¥याउँछन्।”
आयोजक तथा मेधावी कन्सर्नका सञ्चालक सूर्य बिसीका अनुसार प्रदर्शनीमा करिब एक हजार शीर्षकका पुस्तक एकै थलोमा उपलब्ध छन् । नेपालीदेखि अंग्रेजी भाषाका, नयाँदेखि पुराना पुस्तकसम्म भेटिने प्रदर्शनीमा पाठकले छुटसहित पुस्तक किन्न सक्ने सुविधा दिइएको छ ।
असोज २ गतेदेखि सुरु भएको यो प्रदर्शनी असोज १० गतेसम्म चल्नेछ। उद्घाटन कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, साहित्यकार धनसिंह गिरी, सुरेशकुमार पाण्डेय, विपिन आचार्य, राजेन्द्र अर्याल, एलिसा मगरलगायत साहित्य, पत्रकारिता र सामाजिक क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो ।