दाङ, ३१ भदौ । पछिल्लो समय यहाँ व्यावसायिक रूपमा केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीका अनुसार जिल्लामा आर्थिक वर्ष २०८१÷८२ मा सात सय ३० हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती भएको थियो । यसमा नौ हजार ९७३ मेट्रिक टन केरा उत्पादन भएको कृषि ज्ञान केन्द्रको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
“जिल्लामा पछिल्लो समय व्यावसायिक केराखेती बढ्दै गएको छ, उत्पादन वृद्धि भएको र आत्मनिर्भर उन्मुखतर्फ अगाडि बढेको छ”, प्रमुख भण्डारीले भने । रोपेको सबै बिरुवा उत्पादन दिने नभएकाले अहिलेलाई बाहिरबाट आउने केरामै भर पर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
जिल्लामा देउखुरीको राप्ती, शान्तिनगर,गढवा गाउँपालिका, घोराही र तुलसीपुर उपमहानगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक केराखेती हुने गरेको छ । केराखेतीमा ठूलो लगानी गर्ने किसान तथा व्यवसायी पनि लागेको पाइएको छ ।
अन्य याममा जिल्लामा उत्पादन भएका केराले लगभग पुग्ने भए पनि चाडपर्वका समयमा जिल्ला बाहिरसँगै भारतबाट फलफूल भित्र्याउनुपर्ने अवस्था छ । केराको मागअनुसार उत्पादन हुन नसक्दा जिल्ला बाहिरबाट केरा ल्याउनुपर्ने हुँदा बर्सेनि करोडौँ रकम बाहिरिने गरेको व्यवसायी भगत विक बताउँछन् ।
“जिल्लाको उत्पादनले तीन महिना पनि धान्न सक्दैन”, फलपूmल व्यवसायी विकले भने । जिल्लामा धेरै केरा भारतबाटै आउने गरेको उनको भनाइ छ । चितवन, नवलपरासी, टीकापुरलगायत जिल्लाबाट केरा ल्याउने गरे पनि बाह्रै महिना नपुग्ने उनको भनाइ छ ।