सल्यान दार्माका ८३० भूकम्प प्रभावितलाई रोजगारी

दाङ, ६ मंसिर । सल्यान दार्माका भूकम्प पिडितलाई रोजगारी प्रदान गर्न थालिएको छ । दार्माका ८ सय ३० जना भूकम्प प्रभावितलाई ४० दिन बराबरको रोजगारी दिइएको छ । भूकम्प प्रभावित परिवारलाई आयआर्जनका लागि सहयोग पु¥याउन कामका लागि नगद कार्यक्रम अन्तर्गत रोजगारी प्रदान गरिएको हो ।

विश्व खाद्य कार्यक्रम र सप्रोक्स नेपालसँगको सहकार्यमा उक्त कार्यक्रम भइरहेको दार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रशेम ओलीले जानकारी दिनुभयो । उहाँका अनुुसार ५ ओटा सिचाई, ४ ओटा खानेपानी र ३ ओटा सडक स्तरोन्नतीको काम भइरहेको छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमासिकमा वडा न १ का १५, वडा २ का २५८, वडा ३ का १४८, वडा न ४ का १५१, वडा न ५ का १५९ र वडा न ६ का ९१ जना लाभग्राहीले कामका आधारमा पारिश्रमिक पाउने प्रमुख प्रशासकीय अधिकृत ओलीले बताउनु भयो । विभिन्न १२ योजनाका लागि झन्डै ५ करोड ३० लाख रुपैयाँ बराबरको बजेट विनियोजन भएको कार्यालयले जनाएको छ ।

वडाबाट आएको सिफारिसका आधारमा पालिकाले बजेटको व्यवस्था गर्ने ओलीको भनाई छ । उहाँका अनुसार भूकम्प प्रभावितहरुले चैते खोल सिचाईकुलो दार्मा २, ढाराखोला डल्सिङ खानेपानी दार्मा २, घट्टेखोला सिचाई कुलो दार्मा २, सुनाराकुला दार्मा ३, ढारासिम नाउला सिचाई कुलो दार्मा ४, माटेखोला लगात खानेपानी योजना दार्मा ४, मालिका पर्यटकीय स्थल सडक निर्माण दार्मा ४, भक्कानेमल ढाकाडामकोट खानेपानी दार्मा ५, त्रिवेणी काफलनेथटा कृषि सडक स्तरोन्नती दार्मा ५ र फारुला साङटा झुल्नेटा सडक स्तरोन्नती योजना सञ्चालन गरिने छ ।

गत वर्षको कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट दार्मा गाउँपालिकामा मात्र ४ हजार ८० घर  प्रभावित भएका भएका थिए ।