दाङ, ५ मंसिर । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३ वटा युट्युब च्यानललाई कारबाहीका लागि साइबर ब्युरोलाई पत्राचार गरेको छ। त्यस्तै एक फेसबुक पेज र ५ युट्युब च्यानललाई त्यस्ता सामग्री हटाउन निर्देशनसहित स्पष्टीकरण सोधिएको छ।
प्रेस काउन्सिलले पूर्वी गर्जन मिडिया, सगरमाथा पाना र नेपाल लाइभ एचडीलाई कारबाहीका लागि साइबर ब्युरोमा सिफारिस गरेको हो। त्यस्तै लेकाली खबर, खबर बुलेटिन टिभी, न्युज इज नेपाल, रातोपर्दा टिभी, र गुन्द्रुक न्युजलाई स्पष्टीकरण सोधेको हो।
‘सञ्चार क्षेत्रलाई व्यवस्थित, विश्वसनीय, मर्यादित र प्रतिष्ठापूर्ण बनाउन प्रेस स्वतन्त्रताको पूर्ण कार्यान्वयन हुनुपर्छ। संविधान र कानुनले स्थापित गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई पालना गर्न, गराउन साथै गल्ती सच्याउने आमसञ्चार माध्यमको प्रतिवद्धतालाई सम्मान गर्नेतर्फ काउन्सिल सदैव सचेत एवं क्रियाशील छ। आधिकारिक र विश्वसनीय सूचना प्रवाहबाट मात्र पत्रकारिता बलियो र प्रभावकारी हुन्छ। सामाजिक सञ्जालहरू पनि त्यसैका लागि सदुपयोग गर्न सके अहिले देखिएका कतिपय भ्रमहरू आफैं हट्दै जानेछन्।
अभिव्यक्ति स्वतन्त्रता भनेको अराजकता र स्वच्छन्दता कदापि हैन। प्रेस काउन्सिल नेपाल पत्रकारिताका मूल्य र मान्यताविपरीत, गलत, समाजमा उत्तेजना/अफबाह फैलाउने, हिंसा, त्रास एवं द्वन्द्वलाई प्रश्रय पुऱ्याउने, प्रायोजित एवं पक्षपोषणयुक्त, गालीगलौजपूर्ण, घृणा तथा द्वेष फैलाउने सामग्री सम्प्रेषण नगर्न/नगराउन सञ्चार माध्यम र सो अन्तर्गत रहेका युट्युब च्यानल लगायतका सामाजिक सञ्जाल, आम पत्रकार, सञ्चारकर्मीसहित सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा पुनः आग्रह गर्दछ,’ काउन्सिलले विज्ञप्ति जारी गर्दै भनेको छ।